• २८ भदौ २०८३, आइतबार
  • ८ः५३ राती

जातीय विभेद तथा छुवाछूतविरुद्ध संयुक्त जागरण अभियान

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार १२:००

खोटाङ, जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान शुरु गरेका छन् । नेपालको संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले जागरण अभियान शुरु गरेको हो ।

National Life

जिल्लाका दलित सङ्घ सङ्गठन तथा नेपाल आदिवासी जनजाति महासङ्घ सम्बद्ध व्यक्ति सम्मिलित संयुक्त सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै ‘सबै मानिस एउटै हुन्छ, जातीय छुवाछूत गर्नु भनेको सामाजिक अपराध हो’ भन्ने जागरण अभियानलाई जिल्लाव्यापी हुँदै देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिएको छ । जाजरकोटका नवराज विश्वकर्मासहित छ युवाको सामूहिक हत्यामा सङ्लग्न दोषीलाई कारवाहीको माग गर्दै बनाइएको सङ्घर्ष समितिले पछिल्लो समय आफ्नो सङ्घर्षका कार्यक्रमलाई जातीय विभेदका विरुद्ध परिवर्तन गरेको हो ।

छुवाछूतविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन आगामी असोज १५ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय सङ्घर्ष समिति गठन गर्ने, असोज २५ गते जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने, कात्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्तक्र्रिया गर्ने, मङ्सिर १३ गते पालिकास्तरीय समितिसँग अन्तक्र्रिया गर्ने कार्यतालिका बनाइएको समितिका संयोजक दीपक ठटालले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै पुस २ गते जिल्लाका सबै वडामा एकै दिन वडा सङ्घर्ष समिति गठन गर्ने, पुस र माघ मसान्तसम्ममा पालिकास्तरमा प्रशिक्षण, तालिम, गोष्ठी, अन्तक्र्रिया गर्ने, फागुन १ गतेदेखि मसान्तसम्ममा मार्चपास, मसाल जुलुस, खुला आमसभा गर्नेलगायतका विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम निर्धारण गरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ । चैतभरि अभियानको समीक्षा गर्ने र आगामी कार्यक्रमको तयारी गर्ने जनाइएको छ ।

सत्तामा पुगेपछि ‘जातीय विभेद सकियो’ भन्ने शासकका कारण आफूहरु मुक्ति आन्दोलनमा लाग्नुपरेको जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माले बताउनुभयो । समतामूलक समाज निर्माणका लागि ‘छुवाछूतमुक्त समाज हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालन हुने जागरण अभियानमा क्रमशः अन्य जिल्लालाई समेत सहभागी गराउने तयारी गरिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष हात्तीराम राईले जातीय भेदभावका सवालमा हालसम्म प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारवाहीको सुनिश्चितताका लागि दबाब सिर्जना गर्न गठित संयुक्त सङ्घर्ष समितिले जिल्लामा साङ्केतिक हतियार प्रदर्शन, १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शनलगायतका सङ्घर्षका कार्यक्रम गरेको थियो ।
राससस

प्रतिकृया