• १५:१४ २०८० चैत्र १६ गते
  • 3:14 pm

अझै  ६ स्थानीय तहमा पुगेनन् बैंक

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०६:०१

bank

काठमाडौं । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा गएको छैन ।

यसका लागि ०७४ असारभित्र अनिवार्य रूपमा सबै स्थानीय तहमा शाखा पुर्‍याउन राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको थियो । दिएको मिति सकिएको तीन वर्षसम्म पनि ६ वटा स्थानीय तह अझै वाणिज्य बैंकविहीन छन् । गत असारसम्म वाणिज्य बैंकको शाखा नपुगेका स्थानीय तहमा ताप्लेजुङको मिक्काखोला, धादिङको रुवीभ्याली र नेत्रावती, जाजरकोटको जुनिचाँदे, बझाङको काँडा र थलारा गाउँपालिका रहेको छन् ।

बैंक नपुगेका स्थानीय तहमध्ये तीनवटामा छिट्टै सञ्चालन हुने र बाँकी तीनवटामा तत्काल सम्भव नभएको बैंकर्स संघले जनाएको छ । जसमध्ये ताप्लेजुङको मिक्काखोला, धादिङको नेत्रावती र बझाङको थलारा गाउँपालिकामा दुईरतीन महिनाभित्रै शाखा पुग्ने बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनका अनुसार ताप्लेजुङको मिक्काखोलामा कार्यालय स्थापनाका लागि घर नपाएर ढिलाइ भएको हो । ‘निर्माणाधीन घर बैंकले भाडामा लिइसकेको छ,’ उनले भने, ‘सम्पन्न भएपछि शाखा सञ्चालन भइहाल्छ ।’

बैंक नहुँदा कारोबार गर्न निकै गाह्रो भएको ताप्लेजुङको मिक्काखोला गाउँपालिकाका अध्यक्ष रामकुमार साँवाले बताए । ‘गाउँपालिकामा एउटा सहकारीबाहेक वित्तीय कारोबार गर्ने अरू संस्था छैनन्,’ उनले भने, ‘स्थानीय तहको सबै कारोबार सदरमुकामस्थित बैंकबाट गर्नुपरेको छ ।’ गाउँपालिकाबाट सदरमुकाम पुग्न बसमा करिब ३ घण्टा लाग्ने उनले बताए । एउटा भरपर्दो बैंकको शाखा ल्याउन धेरै ठाउँमा आग्रह गरे पनि अझै आइनसकेको उनले गुनासो गरे ।

प्रतिकृया