• ७ असोज २०८३, बुधबार
  • ६ः४९ बिहान

अझै  ६ स्थानीय तहमा पुगेनन् बैंक

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०६:०१

काठमाडौं । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा गएको छैन ।

National Life

यसका लागि ०७४ असारभित्र अनिवार्य रूपमा सबै स्थानीय तहमा शाखा पुर्‍याउन राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको थियो । दिएको मिति सकिएको तीन वर्षसम्म पनि ६ वटा स्थानीय तह अझै वाणिज्य बैंकविहीन छन् । गत असारसम्म वाणिज्य बैंकको शाखा नपुगेका स्थानीय तहमा ताप्लेजुङको मिक्काखोला, धादिङको रुवीभ्याली र नेत्रावती, जाजरकोटको जुनिचाँदे, बझाङको काँडा र थलारा गाउँपालिका रहेको छन् ।

बैंक नपुगेका स्थानीय तहमध्ये तीनवटामा छिट्टै सञ्चालन हुने र बाँकी तीनवटामा तत्काल सम्भव नभएको बैंकर्स संघले जनाएको छ । जसमध्ये ताप्लेजुङको मिक्काखोला, धादिङको नेत्रावती र बझाङको थलारा गाउँपालिकामा दुईरतीन महिनाभित्रै शाखा पुग्ने बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनका अनुसार ताप्लेजुङको मिक्काखोलामा कार्यालय स्थापनाका लागि घर नपाएर ढिलाइ भएको हो । ‘निर्माणाधीन घर बैंकले भाडामा लिइसकेको छ,’ उनले भने, ‘सम्पन्न भएपछि शाखा सञ्चालन भइहाल्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

बैंक नहुँदा कारोबार गर्न निकै गाह्रो भएको ताप्लेजुङको मिक्काखोला गाउँपालिकाका अध्यक्ष रामकुमार साँवाले बताए । ‘गाउँपालिकामा एउटा सहकारीबाहेक वित्तीय कारोबार गर्ने अरू संस्था छैनन्,’ उनले भने, ‘स्थानीय तहको सबै कारोबार सदरमुकामस्थित बैंकबाट गर्नुपरेको छ ।’ गाउँपालिकाबाट सदरमुकाम पुग्न बसमा करिब ३ घण्टा लाग्ने उनले बताए । एउटा भरपर्दो बैंकको शाखा ल्याउन धेरै ठाउँमा आग्रह गरे पनि अझै आइनसकेको उनले गुनासो गरे ।

प्रतिकृया