• ८ असोज २०८३, बिहीबार
  • २ः१३ दिउँसो

अवैध नदीजन्य सामग्री झिक्ने सवारी कारवाहीमा

प्रकाशित मिति

२०७७ श्रावण १५ गते, बिहीबार १२:२३

त्रिशूली, नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । प्रचलित कानूनअनुसार असारदेखि भदौसम्म नदी र खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने व्यवस्था भए पनि लुकिछिपी बालुवा उत्खननमा संलग्न एक स्काभेटरसहित १० टिपरलाई यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्लेका अनुसार त्रिशूली नदीबाट अवैधरूपमा बालुवा झिक्दै गरेको एक स्काभेटरलाई सोही स्थानमा साङ्लो लगाइएको छ भने १० टिपर नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएको छ । अवैधरूपमा नदीजन्य सामग्री झिक्ने स्काभेटरसहित ओसारपसारमा संलग्नलाई नगद जरिवाना तिराउने कानूनी व्यवस्था रहेको जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु एक लाख ७० हजार राजश्व सङ्कलन भइसकेको छ भने अझै केही सवारी साधनमाथि कारवाहीको प्रक्रिया भइरहेको छ । गएको वर्ष नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्री उत्खननमा संलग्न रहेका सवारी साधनमाथि गरिएको कारवाहीमा रु १२ लाख १० हजार राजश्व सङ्कलन भएको थियो ।

खोला र नदीबाट अवैधरूपमा उत्खनन गरेर सङ्कलन गरिएको बालुवालगायतका नदीजन्य सामग्रीको लिलाम गर्न लागिएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले गत वर्षको बर्खायामदेखि हालसम्म अवैधरूपमा उत्खनन गरेर थुपारेका नदीजन्य सामग्री जफत गरेर त्यसलाई बढाबढमा बिक्रीका लागि लिलाम निकाल्न स्थानीय तहलाई निर्देशन दिएको संयोजक तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नदी र खोला किनारमा थुपारिएका अवैध बालुवा करिब रु एक करोड रहेको अनुमान छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया