सामाजिक दुरी कायम नगर्ने ३० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति
२०७७ श्रावण ३ गते, शनिबार ०९:५१

काठमाडौं । आज सामाजिक दुरी कायम नगर्ने ३० वटा सार्वजनिक भाडाको सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा लिएको छ ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी साधनलाई विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो ।

कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन आएका सार्वजनिक यातायातलाई विशेष चेकजाँचमार्फत कडाई गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो ।
ती नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्न भनि सम्झाई बुझाई छाडिएको ढकालले बताउनुभयो ।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्ने जस्ता कार्यहरू गर्न आग्रह गर्दै ५५८ वटा भाडाका सवारी साधनलाई सम्झाईबुझाई गरेको पनि महाशाखाले जनाएको छ ।



प्रतिकृया