• २२ भदौ २०८३, सोमबार
  • ८ः२३ राती

आज पनि ओली – दाहाल एक्लाएक्लै वार्तामा बस्दै

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०९:२७

 

National Life

काठमाडौं । आज पनि स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुट्दैछन् ।

मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली – दाहाल छलफल हुन लागेको हो । छलफलको समय तय भइनसके पनि बिहान ११ बजेअघि नै अध्यक्षद्वयबीच वार्ताको सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Classic Tech Desktop

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको अबका छलफललाई अझ चासोपूर्वक हेरिएको छ । पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएकाले त्यसअघि नै अध्यक्षद्वयबीच सहमतिको प्रयास हुनेछ ।

बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् । तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

प्रतिकृया