• ७ असोज २०८३, बुधबार
  • ६ः४७ बिहान

कोरोना जितेका नर्स–पत्रकार जोडीको कोरोना जित्ने टिप्स

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ०४:०७

 

National Life

‘रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न गुर्जो निकै प्रभावकारी रहेछ। गुर्जो, टिमुर, लसुन, बेसार, अदुवा, नुन मिसाएर पानी खान्थ्यौँ।

नेपालगञ्ज । गत जेठ ८ साँझ ६ः२० बजेको समय नर्स लक्ष्मी केसीका लागि कहिल्यै नभुल्ने दिन भएको छ। सधैं ८ देखि ९ बजे कर्मक्षेत्रबाट फर्किने उनी सो दिन भने अपरान्ह ५ बजे घर फर्किइन्। नसिङ संघ बाँकेकी अध्यक्षसमेत रहेकी केसीले संघको भर्चुअल मिटिङमै रहेको बेला पति मेघराज ओलीले समस्या जटिल छ भन्दै मिटिङ अन्त्य गर्न संकेत गरे।

Classic Tech Mobile
Classic Tech Desktop

कामबाट फर्केपछि सधैं जिस्किने पतिले आज पनि मजाक गरेका होलान् भन्ने उनले ठानिन्। तर, उनलाई कोरोना भएको रहेछ। त्यत्तिबेला बाँकेमा कोरोनाको त्रास व्यापक थियो। आफ्नो रिपोर्ट पोजेटिभ भएको केसीले पत्याइनन्। ‘मेरो रिपोर्ट नै होइन। म सुरक्षाका सबै विधि अपनाएर हिँड्थेँ। कसरी हुन्छ’, उनले गरेको प्रतिवाद मेघराजले सम्झे। मनमा कता कता चिसो पस्यो तर उनी आत्तिनन्। ‘अरुलाई सम्झाउन सजिलो हुन्छ, आफू समस्यामा पर्दा गाह्रो हुने रहेछ’, लक्ष्मीले यथार्थ दर्शाइन्। भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापालाई फोन गरेर सोधेपछि आफू संक्रमित भएको कुरा उनलाई विश्वास भयो।

उनले छोरा र छोरीलाई दुई दुईवटा मास्क लगाउन लगाइन्। र, आफू घरको पश्चिमतिरको कोठामा आइसोलेट भइन्। खजुरा गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक रहेकी नसिङ अधिकृत लक्ष्मीले गाउँपालिकाको टिमलाई घर सेनिटाइज गर्न बोलाइन्। कोरोना संक्रमण भएको २४ घण्टासम्म घरकै आइसोलेसनमा बसेकी केसीले घरमै बस्न माग गरिन् तर पाइनन्।

उनलाई संक्रमण भएको दोस्रो दिनमा पति मेघराज र दुई सन्तानको पनि स्वाब संकलन भयो। तीन दिनमा पतिको कोरोना रिपोर्ट पनि पोजेटिभ आयो। यो क्षण मेघराजका लागि केही असहज पक्कै भयो। स्थानीय मध्यपश्चिम सन्देश दैनिकका प्रकाशकर,सम्पादक रहेका मेघराज खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनमा गएपछि कोरोना जित्न दैनिकी फेरिएको बताउँछन्।

नेपालगन्जको न्युरोडस्थित उनको निवासमा पुगेर कुरा गर्दा मेघराज र लक्ष्मीले कोरोना संक्रमण र यसबाट जोगिने उपायबारे आफ्ना अनुभव विज्ञ जस्तै धाराप्रवाह रुपमा बताए। ‘आइसोलेसनमा बस्नेले आफूलाई दिनभरी नै क्रियाशील बनाउनुपर्छ। सकेसम्म दैनिक रुटिन नै बनाएको राम्रो। नत्र भने मनमा रोग लागेको छ। के हुने हो भन्ने तनावले घेर्छ’, मेघराजको सुझाव थियो। लक्ष्मी भन्दै थिइन्, ‘रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सकारात्मक सोच चाहिन्छ। नत्र भने डिप्रेसनमा जाने खतरा हुन्छ।’ बिहान सबेरै उठ्ने, योग, कपालभाती गर्ने, दिनमा तीन पटक तातोपानीको वाफ लिने नियमित कार्यतालिका नै बन्यो। स्वास्थ्यकर्मी भए पनि लक्ष्मीले कोरोना जित्न जडिबुटीलाई आत्मसात गरिन्। ‘रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न गुर्जो निकै प्रभावकारी रहेछ। गुर्जो, टिमुर, लसुन, बेसार, अदुवा, नुन मिसाएर पानी खान्थ्यौं। मनतातो पानीमा कागती र मह पनि खान्थ्यौँ’, उनले भनिन्।

संक्रमणलाई जित्न यो दम्पत्तिले सिकेको अर्को कुरा थियो, सकारात्मक सोच र आफूलाई तनाबमुक्त बनाउने। समाजको मनोवैज्ञानिक त्रासबाट जोगिनु अर्को चुनौती थियो। डिस्चार्ज भएर घर फर्कदा छिमेकीले गरेको सम्मान र माया उनीहरुका लागि अविस्मरणीय भएको छ। कोरोना निको भएर घर पठाउँदा चिकित्सकले सात दिन होम क्वारेन्टाइनमा बस्न सुझाएका थिए। तर दुई दिनमै लक्ष्मीले कार्यालयको काम सम्हालिन्। कोरोनाबाट आत्तिनु पर्दैन, छिटै निको हुन्छ। निको भएपछि पुरानै अवस्थामा काम गर्न सकिन्छ भनेर आफैंलाई उदाहरणको रुपमा प्रस्तुत गरिरहेकी छिन्।

महामारीको बेलामा जोखिम मोलेर सञ्चारकर्मीले उच्च मनोबलका साथ काम गरे पनि राज्यले नहेरेको मेघराजको गुनासो छ। भन्छन्, ‘कोरोनाबारे सचेतना फैलाउने र कोरोनाको उच्च जोखिममा रहेर काम गर्ने पत्रकारसँग राम्रो मास्क छैन, सेनिटाइजर छैन। यस्ता सुविधा राज्यको तर्फबाट उपलब्ध हुनुपर्थ्यो। संक्रमणका बेलामा खटिने सबै पत्रकारको बीमा गर्न जरुरी छ।’ पत्रकारलाई महामारीको समाचार कसरी संकलन गर्ने भन्ने विषयमा तालिम आवश्यक भएको उनको बुझाइ छ। स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ सेवा गर्न लक्ष्मी आग्रह गर्छिन्।

जोखिममा काम गर्ने स्वास्थ्यकर्मीको सेवा सुविधा दिन राज्यले कन्जुस्याइँ गर्न नहुने र सुरक्षाका सामग्री उपलब्ध गराउनु पर्ने उनको सुझाव छ। ‘सेवा सुविधा नहुँदा जोखिम मोलेर कसरी काम गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुले प्रश्न गर्छन्’, उनले सहकर्मीको गुनासो सुनाइन्।यो समाचार अन्नपूर्ण पोष्टमा शंकरप्रसाद खनालले लेख्नुभएको छ ।

प्रतिकृया