• २२:२० २०८० चैत्र १५ गते
  • 10:20 pm

पोखरामा पर्यटनः अर्बौको लगानी सङ्कटमा

प्रकाशित मिति

२०७७ असार २९ गते, सोमबार १०:१३

pokhara

पोखरा, कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् ।

बन्दाबन्दी खुल्ने र पर्यटक आउने यकिन नभएपछि भाडा मात्र तिरेर बस्न सक्ने अवस्थामा पनि नरहेका पर्यटन व्यवसायी व्यवसाय छाड्न थालेका छन् । पोखराको लेकसाइडमा होटल व्यवसाय गर्दै आएका ७० जना व्यवसायी पर्यटन क्षेत्रबाट विस्थापित भइसकेका छन् भने करिब एक सयको हाराहारीमा होटल व्यवसायीले व्यवसाय बन्दको घोषणा गरेका छन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा मात्र बन्दाबन्दीका कारण ७० भन्दा बढी साना होटल व्यवसायीले व्यवसाय छाडिसकेका छन् । पोखरामा सानाठूला गरेर सात सय होटल छन् । २५० वटा होटल घरधनी आफैँले चलाएका छन् । जसमा एक खर्ब २५ अर्ब लगानी छ ।

पोखराका होटल व्यवसायमा पछिल्लो समयमा थुप्रै बैङ्कले पनि लगानी गरे । तुलाचनका अनुसार ७० देखि ८० अर्ब रुपियाँ बैङ्कको लगानी छ । लेक साइडमा ४० हजारदेखि मासिक १२ लाख रुपियाँसम्म भाडा तिर्ने होटल व्यवसायी छन् ।

समस्या समाधानका लागि दीर्घकालीन नीतिगत संरक्षण गर्न सरकारसँग माग गरेको अध्यक्ष तुलाचनले बताउनुभयो । विद्युत् छुट पनि उत्पादन क्षेत्रलाई मात्र दिइयो हामीलाई दिइएन, उहाँले भन्नुभयो । करिब चार महिनादेखि जारी बन्दाबन्दीका कारण भाडामा व्यवसाय सञ्चालन गरेका र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू बढी मारमा परेको तुलाचनले बताए । गोरखापत्रबाट

प्रतिकृया