• १५:११ २०८० चैत्र १५ गते
  • 3:11 pm

नागरिकको अधिकार सरकारको मर्जी होइनः सर्वोच्च

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०९:४९

 

काठमाडौं । सर्वोच्च अदालतले लोकतन्त्रमा कुनै पनि नागरिकको विचार र अभिव्यक्तिलाई कार्यकारिणीको इच्छा र मर्जीमा राख्न नहुने ठहर गरेको छ। न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिक स्वतन्त्र, सार्वभौम र अधिकारसम्पन्न भएकाले विदेश जाँदा कसैलाई पूर्वजानकारी दिनुपर्ने वा सहमति लिनुनपर्ने ठहर गरेको हो।

पूर्वबहिर्गमित लडाकु लेनिन बिष्टलाई २०७५ भदौ ८ मा थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी हुन जान लागेका बेला त्रिभुवन विमानस्थलबाट फकाईएको थियो। उनी जान लागेको कार्यक्रम विषयमा सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएको भन्दै प्रस्थान अनुमति रोकिएको थियो। त्यसलगत्तै बिष्टले सर्वोच्च अदालतमा मौलिक अधिकार हनन भएको भन्दै रिट निवेदन दर्ता गरेका थिए।

विदेश हिँडेको नेपाली नागरिकलाई अध्यागमनबाट फिर्ता गर्नु संविधानविपरीत भएको अदालतले स्पष्ट पारेको छ। २०७६ कात्तिक १४ मा भएको फैसलाको शुक्रबार तयार पूर्णपाठमा अदालतको ठहर स्पष्ट पारिएको हो। ‘कसैलाई पूर्वजानकारी दिनुपर्ने वा सहमति लिनुपर्ने हुँदैन। यसो भन्नु सम्म पनि विचार र अभिव्यक्तिलाई कार्यकारिणीको इच्छा र मर्जीमा राख्नु हुन्छ, जुन लोकतन्त्रमा होइन, पुलिस राज्यमा मात्र सम्भव हुन्छ। तसर्थ सो तर्क कुनै किसिमले पनि संविधानसम्मत देखिँदैन’, अदालतले भनेको छ।

तत्कालीन लडाकुको संगठनका संस्थापक एवं अन्य सदस्यसमेत १५ जनाले बिष्टविरुद्ध आवश्यक कारबाही माग गर्दै गृह मन्त्रालयमा उजुरी गरेका थिए। त्यही उजुरीबारे थप बुझ्नुपर्ने भएकाले प्रस्थान अनुमति नदिइएको गृह मन्त्रालयको जवाफ रहेको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखिएको छ ।

प्रतिकृया