• २१ भदौ २०८३, आइतबार
  • २ः०६ दिउँसो

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च बिन्दुमा

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०८:०६

 

National Life

पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झण्डै तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ ।

मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा पानीको सतह २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

Classic Tech Desktop

नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा गए रातिदेखि नै भारी वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च बिन्दु पार गरेको छ । विसं २०५० साउनमा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो ।

सत्ताइस वर्षपछि यसपटक पनि उक्त बिन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको बहाव मापन) गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले बताएका छन् ।

प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षायाममा पानीको बहाव बढ्दा सरदर ७ देखि ८ गेज मिटरको उचाइ छुने गरेको भएपनि यो वर्ष ती विगतका सबै रेकर्ड तोडेर उच्च विन्दु पार गरेको सुवेदीले जानकारी दिएका छन् ।

प्रत्येक दिन बिहान नदीमा पानीको सतह नाप्ने र पानीमा बालुवाको मात्रा अध्ययन गरी जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयलाई विवरण उपलब्ध गराउने गरेको समेत उनले जानकारी दिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले देशभरका नदीमा गेज मिटर राखेर पानीको बहाव मापन गर्ने गर्दछ । विभागले यसकै आधारमा तराईका क्षेत्रमा डुवानको पूर्वानुमान र विभिन्न वातावरणीय प्रभावका विषयमा समेत अध्ययन गर्ने गरेको छ ।

यसैबीच निरन्तरको वर्षाका कारण नदीमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका प्रशासन कार्यालयले कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् ।

नदीमा पानीको बहाव बढेसँगै सबैभन्दा बढी जोखिम कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको बेनी बजार, पर्वतको बारी बेनी बजार, पर्वतको मालढुङ्गामा रहेको माझी बस्ती, सेतीवेणी बजार लगायतका क्षेत्र उच्च जोखिममा रहेका छन् । यता नदीमा पानीको बहाव उच्च भएपछि कालीगण्डकी ए जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ ।

नदीमा बढेको बहावले कालीगण्डकी जलाशय आसपासका बस्ती जोखिममा पर्न थालेपछि सबै ढोका खोल्न लगाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शुम्भरप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिकृया