• 10:58 am

भीषण बाढीका कारण सिन्धुपाल्चोकमा १८ जना बेपत्ता, २ शब भेटियो

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०८:१५

 

काठमाडौं ।रातभरको अविरल बर्षाका कारण आएको बाढी-पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसेमा करिब एक दर्जन घर बगाएको छ । कम्तिमा १८ जना मानिस वेपत्ता छन् भने २ शब भेटिएको छ। हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ । बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

त्यसभन्दा करिब आधा किलोमिटर अगाडि वडा नं. ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको मेयर शेर्पाले बताए । उनले भने, ‘त्यहाँ दुई जनाको शव भेटिएको छ र करिब १८ जना वेपत्ता भएको खबर छ ।’

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएको छ । परिवारका चार जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ । १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको छ ।

बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको पौडेलले बताए । उनले भने, ‘जिल्लाबाट हेलिकप्टर मगाउन समन्वय गरिरहेका छौं ।’

यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छन् ।

भोटेकोशी थुनिएको र बाँध फुटेर आकस्मिक बहाव बढेको अनुमान गरिएको छ ।

प्रतिकृया