• २२ भदौ २०८३, सोमबार
  • ७ः२० बेलुका

बढ्दो आत्महत्याः न्यूनीकरण गर्ने कसरी ?

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार ११:२५

लक्ष्मण प्रसाद खतिवडा

National Life

काठमाडौं, आजभोलि दिनदिनै आत्महत्याका समाचारहरु आउन थालेका छन् । आत्महत्याको कारण धेरै भए पनि जीवनमा आउने समस्या समाधान गर्न नसक्नुनै आत्महत्याको प्रमुख कारण मान्न सकिन्छ । धेरैजस्तो आत्महत्याका घटनाहरु आवेशमा आएर भएको पाइन्छ । पारिवारिक कलह, परिवारसँग विछोडको पिडा, नैराश्यता, मानसिक रोग, दीर्घ रोगका कारण समेत आत्महत्या गर्ने गरेको विभिन्न तथ्यांकहरुले देखाएका छन् । हुनपनि आत्महत्याको कारणहरुमा आर्थिक समस्या, गरिबी, बेरोजगारी, झैझगडा, प्रेममा असफलता, आफन्तको शोक, दैवीप्रकोप आदि नै मुख्य रुपमा देखिएको छ । आज युवा–युवतीमात्र होइन बालबालिकादेखि वृद्धवृद्धाहरुले समेत आत्महत्याको कारण ज्यान गुमाइरहेका छन् ।

आत्महत्या भन्नाले आफैले आफैलाई मार्नु भन्ने बुझिन्छ । मर्नदेखि डराउने मानिसको मानसिक विकास कमजोर भएमा आत्महत्या गर्ने स्थितिसम्म पुग्दछ । मानवीय स्वभाव नै बाँच्ने इच्छा राख्नु हो । तर यही स्वभावको विपरित मानिसहरुले आत्महत्या गर्ने गरेका छन् । यो आफैमा रोग नभएपनि मनोरोगको परिणाम चाँहि पक्कै हो । आत्महत्याका कारण धेरै भएपनि मानसिक समस्याका कारण नै मानिसले बढि मात्रामा आत्महत्या गर्न पुग्छन् । मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानी मानिसले आत्महत्या गर्छन् । यसको साथै रिसको आवेगमा पनि आत्महत्या गर्ने गरेको देखिन्छ ।

Classic Tech Desktop

आत्महत्या नितान्त व्यक्तिगत कुरा हो । व्यक्तिले यस्तो कार्य गोप्यरुपमा नै गर्ने गर्दछ । आफ्नो समस्या समाधान गर्न नसके पछि नै व्यक्तिले यस्तो बाटो रोज्दछ । हुन त सबैका केही न केही समस्या हुन्छन् । समस्याको समाधानको उपायहरु पनि हुन्छन् । तर समाधान तर्फ अग्रसर हुन नसक्दा नै व्यक्ति आत्महत्या गर्न पुग्दछ । स्याङ्जाका युवक हुन् वा रोल्पाका युवक, पर्वतका प्रिन्सिपल हुन् वा अछामका व्यक्ति त्यस्तै बलिउड स्टार सुशान्त सिंह राजपूत हुन् वा भारतकी चर्चित टिकटक स्टार ती सबैले आत्महत्या रोज्न पुगेका छन् । यसका साथै दाङ तथा चितवन जिल्लाकी युवतीहरुले फेसबुक लाइभ गरेर आत्महत्या गरेका छन् । आवेगमा यस्तो बाटो अंगाल्नु, लाइभ भिडियो प्रसार गर्नु एवं यस्ता भिडियोहरुलाई लाइक तथा सेयर गर्नु कुनैपनि हालतमा असल कार्य पक्कै होइन । यस्‍ता भिडियोले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागलाई समेत नकारात्मक असर पार्दछ । आत्महत्याको लागि अपनाइएको विधि र तरिका प्रस्तुत हुँदा अन्य आत्महत्या गर्न खोज्ने मानसिक रोगीहरुलाई सहयोग पुग्न सक्दछ । त्यसैले यसप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

आत्महत्या रोकथाम गर्नु एक विश्वाव्यापी चुनौति बनेको छ । हरेक वर्ष मृत्यु हुने कारणमध्ये एक मुख्य कारणमा आत्महत्या पनि पर्दछ । विश्वमा कुल मृत्युमध्ये १।५ प्रतिशत आत्महत्याको कारण हुने गरेको पाइन्छ भने नेपालमा समेत करिब ५ प्रतिशत मृत्यु आत्महत्याको कारण हुने गर्दछ । विश्वमा हरेक वर्ष १० लाखभन्दा बढीले आत्महत्या गर्ने गरेका छन् । यसमध्ये ७९ प्रतिशत निम्न र मध्यम आय भएका मुलुकमानै हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हुनपनि संसारभर बढी आत्महत्या हुने मुलुकहरुमध्ये नेपाल सातौं स्थानमा पर्नुले नेपालमा पनि आत्महत्याको स्थिति विकराल हुँदै गएको देखिन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ५ हजार भन्दा बढी व्यक्तिले आत्महत्याको कारण ज्यान गुमाएको देखिनुले यस कुरालाई थप पुष्टि गरेको छ ।

धर्म तथा कानुनले समेत आत्महत्यालाई राम्रो रुपमा हेर्दैन तरपनि मानिसहरु आत्महत्या गरिरहेका छन् । आज विभिन्न कारणले क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा मानिस आत्महत्याको बाटो अँगाल्न पुग्दछ । आत्महत्या गर्ने मध्ये अधिकांश व्यक्तिहरु मानसिक रोगी भएको देखिएको छ । मानसिक समस्या भएकाहरुलाई उचित मनोपरामर्श एवं औषधोपचारबाट उपचार गर्न सकिन्छ । त्यसैले यतातर्फ ध्यान दिनु जरुरी छ । अझै अहिले त कोरोना महामारीको कारण गरिएको बन्दाबन्दीले निम्त्याएको मनोवैज्ञानिक तनावका कारण मानसिक स्वास्थ्यमा संकट देखिएको छ । संक्रमणका कारण आम मानिसमा डर र निराशा बढेको देखिन्छ ।

आत्महत्या गर्ने व्यक्तिहरु कुनै न कुनै रुपमा मानसिक रोगद्धारा पीडित हुन्छन् । नेपालमा समेत करिब २० प्रतिशत जनतामा बेचैनी, डर, निराशाजस्ता मनोसामाजिक समस्या रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यो नै आत्महत्याको प्रमुख कारण हो । यस्तो रोगको बेलैमा पहिचान गरी मनोपरामर्श तथा औषधि उपचारको व्यवस्था गर्ने हो भने पक्कै आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ । मनोवैज्ञानिकका अनुसार आत्महत्या मानसिक समस्याको जटिल परिणति हो । त्यसैले यो समस्याको समाधान गर्न व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने देखिन्छ ।

आत्महत्या गर्ने सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण हुन्छन् । यस प्रकारको मृत्युलाई सबैभन्दा निकृष्ट प्रकारको मृत्यु मानिन्छ । अप्राकृतिक मृत्यु अन्तर्गत पर्ने यसबाट आफन्तजनका ठूलो क्षति पुग्दछ । तरपनि दिनप्रतिदिन यसको दर बृद्धि भैरहेको छ । आत्‍महत्याको कारणमा मानसिक समस्या, पारिवारिक समस्या, शारीरिक समस्या, लागु औषध दुर्व्‍यसन, बेरोजगारी आदि पर्दछन् । अध्ययन अनुसार कुनै पनि व्यक्तिले एक्कासी आत्महत्या गर्दैन । त्यसैले उसले देखाउने लक्षणलाई बुझी उचित परामर्श दिन सकेमा पक्कै आत्महत्यामा कमी ल्याउन सकिन्छ ।

प्रतिकृया