• २२ भदौ २०८३, सोमबार
  • ७ः५१ बेलुका

फिजीमा यसरी गाडियो भारतीय झन्डा (भिडियो सहित)

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार १०:४२

 

National Life

काठमाडौं । भारतले नेपाललाई फिजी बनाउन चाहान्छ भन्ने विश्लेषण हुँदै आएको धेरै भयो । खासगरी नागरिकताको एजेन्डामा जोडिएर आउँछ, फिजीको प्रसंग । र, यतिवेला त्यस प्रसंगले मेलपनि खाएको छ कि, नेपाली पुरुषसँग विवाह गरेर आउने महिलाई ७ बर्षपछि मात्र अंगिकृत नागरिकता दिइने विधेयक कानुन बन्ने अवस्थामा पुगेको छ । र, यही ब्यवस्थाको पक्ष र विपक्षमा विभिन्न पार्टी र नेताहरु देखा परेका छन् ।

खासगरी फिजीमा भारतीयमुलका महेन्द्र चौधरी प्रधानमन्त्री नै भएपछि डरलाग्दो रुपमा संसारभरीलाई यो उदाहरण स्थापित छ । सात समुद्रपारीको देश फिजीमा प्रधानमन्त्री हुन कसरी संभव भयो, भारतीय मुलका महेन्द्र चौधरीलाई ? आजको हाम्रो रिपोर्ट यही सेरोफेरोमा केन्द्रीत हुनेछ ।

Classic Tech Desktop

को हुन् महेन्द्र चौधरी ?
महेन्द्र चौधरीको वास्तविक नाम महेन्द्र पाल चौधरी हो । उनको जन्म सन् १९४२ फरवरी ९ मा फिजीमा भएको थियो । उनी भारतीय मुलका फिजीयन हुन् । उनको वंश भारतको उत्तरी राज्य हरियाणाको एउटा गाँउमा रहेको छ । उनका हजुरबुवा रामनाथ चौधरी, सन् १९१२ मा भारतबाट फिजी गएका थिए, उखु खेतमा काम गर्ने मजदुरको रुपमा । फिजी पुग्ने भारतीयका तेस्रो पुस्ताका सन्तान थिए, महेन्द्र चौधरी ?

महेन्द्र सुरुमा अडिटर थिए । र पछि उनी राजनीतिमा लागे । उनको सक्रियतामा सन् १९८५ मा स्थापना गरिएको पार्टीको नाम ‘फिजी लेबर पार्टी’ थियो । पार्टी स्थापनाको दुई बर्षमा नै उनी मन्त्री बन्न सफल भएका थिए । १९८७ को सत्ता हेरफेरमा उनी बित्तमन्त्री थिए । उनी त्यसवेला समेत जेल परेका थिए । महेन्द्र राजनीतिमा सक्रिय हुने मुल कारण थियो, ठूलो संख्यामा रहेका आप्रवासी भारतीयहरुको अधिकार सुनिश्चित गर्नु । ९० को दशकमा फिजीमा महेन्द्र चौधरी लोकप्रिय नेता भए । उनी खासगरी भ्रष्टाचार विरोधी नेताको छवी बनाउन सफल भएका थिए । उनलाई आम फिजियनहरुले मन पराउने मुल कारण यही नै थियो । त्यसैगरी ठूलो संख्यामा रहेका भारतीय आप्रवासीहरुलाई धेरैभन्दा धेरै अधिकार दिलाउन प्रयत्न गर्नुपनि उनलाई जनमत दिलाउने आधार बन्यो । किनभने फिजीमा त्यसवेला ५० प्रतिसत जनसंख्या भारतीय आप्रवासीहरुको थियो । यही कारण उनी चुनाव जितेर सन् १९९९ मई १९ मा गणतन्त्र फिजीको प्रधानमंत्री नै बने । उनलाई फिजीको प्रथम भारतीय –फिजीयाइ प्रधानमन्त्री पनि भनिन्छ ।

भारतीय मुलको मानिस फिजीको सर्बोच्च स्थानमा पुगेको भन्दै भारतभरी उनको जयजयकार र स्वागत गरिएको थियो । उनको कामको कद्धरगर्दै भारत सरकारले सन् २००४ मा औपचारिक रुपमा नै प्रवासी भारतीय सम्मान तथा पुरस्कार समेत प्रदान गर्यो । यो पुरस्कार भारतीय राष्ट्रपतिले दिने गर्दछन् । यसप्रकारका धेरै भारतीय पुरस्कारवाट उनी पुरस्कृत हुँदै आएका छन् । उनी प्रधानमन्त्री भएर भारत पुग्दा उनको पैत्रिक राज्य हरियाणाका तत्कालीन मूख्यमन्त्री ओमप्रकाश चौटालाले सोही राज्यको जनसंख्याजति नै अर्थात १ करोड ६० लाख रुपैयाको विटो पुरस्कार वापत थमाएका थिए ।

भारतीयलाई जिताउने जनमत कसरी बन्यो फिजीमा ?
सन् १९९९ को चुनावमा फिजीका पूर्वप्रधानमन्त्री शिटभिनी रबुकालाई हराएर एतिहासिक जित हासिल गर्दै महेन्द्र चौधरी फिजीको पहिलो इन्डो फिजीयन प्रधानमन्त्री बन्न सफल भएका थिए ।

फिजीमा बस्ने भारतीयहरुलाई संविधानमा रहेको विभेदकारी नीति मन परेको थिएन । त्यही मेसोमा त्यहाँ बस्ने भारतीय मूलका नागरिकलाई अधिकार दिलाउन महेन्द्रले मूख्य भूमिका खेलेका थिए । जस्तो भारतीय सरकारको समेत दवावमा सन् १९९२मा ‘रिभ्यू कमिशन’ बनाउन त्यहाँको आदिवासी सरकारलाई बाध्य पारिएको थियो । फलस्वरुप सन् १९९८ मा सम्पूर्ण भारतीय आप्रबासीलाई नागरिकता वितरण गरियो । त्यसवेला एकैपटक ३ लाख भारतीय मुलका मानिसले फिजीको नागरिकता प्राप्त गर्न सफल भएका थिए । यो कामको नेतृत्व उनै महेन्द्र चौधरीले गरेका थिए । त्यतिमात्र होइन, हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन पनि भारतीय आप्रवासीहरु सफल भएका थिए । सन् १९२० मा नै भारतीयलाई फिजी जान पासवर्ड नचाहिने कानुन पारित भइसकेको थियो । अर्थात भारतीयहरु मनलाग्दीरुपमा फिजी जान्थे । र, १९९८ देखि उनीहरु सजिलैसँग कानुनीरुपमा नै फिजियन समेत हुन थालेका थिए ।

महेन्द्र प्रधानमन्त्री हुनुअघिसम्म भारतीय मुलका नागरिकको मात्र होइन, सम्पूर्ण गणतन्त्र फिजीकै राजनेता भएको संदेश छर्न सफल भएका थिए । उनी राष्ट्रबादको सवालमा समेत बफादार भएर प्रस्तुत हुने गर्थे । पटक–पटकको राजनीतिक अस्थिरताले फिजीका जनता नयाँ र विकासप्रेमी नेताको खोजीमा थिए । यहीक्रममा भ्रष्टाचार विरोधी र विकासको नारा लगाउँदै गरेका महेन्द्र चौधरी फिजियनहरुको नजरमा परेका थिए । तर, महेन्द्रको सत्तारोहणमा भारतीय मुलका नागरिकको बर्चस्व प्रमुख कारण थियो । साथै महेन्द्रलाई चुनाव जित्न भारतीय सरकारको सवैखाले सहयोग रहेको पनि आरोप लागिरह्यो ।

यस्तो छ, फिजीमा भारतीय नागरिक बढेको इतिहास ?
प्रशान्त महासागरको दक्षिणमा रहेको टापु हो, फिजी । यस देशको नाम गणतन्त्र फिजी हो । यस देशको पूर्वमा टोङगा, पश्चिममा भानुआटु र उत्तरमा टुभालु देश रहेका छन् । यो भारतभन्दा १२ हजार माइल टाढा रहेको छ । १८ हजार २ सय ७४ बर्ग किमी क्षेत्रफल रहेको सानो देश फिजीमा अंग्रेजी, हिन्दी र फिजी भाषा बोलिन्छ । ९ लाख जनसंख्या रहेको यति टाढाको मुलुकमा कसरी संभव भयो, भारतीय दबदवा ? यसको इतिहास सन् १८७४ वाट सुरु हुन्छ ।

भारतजस्तै फिजीलाई पनि ब्रिटिशले उपनिवेश वनाएको थियो । सन् १८७४ मा ब्रिटिशको उपनिवेश भएपछि नै हो, फिजीमा भारतीयहरुको सामूहिक प्रवेश । सन् १८७९मा मात्रै ब्रिटिश सरकारले ६१ हजार भारतीयलाई मजदुरको रुपमा फिजी पुर्याएको थियो । त्यसपछिका दिनमा पनि भारतवाट मजदुरको रुपमा फिजी जाने–आउनेहरुको संख्या उल्लेख्य रहयो । सन् १९७० अक्टोबर १० मा फिजी स्वतन्त्र भएपछि भने त्यहाँ पुगेका कामदार भारतीयहरुले अधिकार माग्न सुरु गरे । उनीहरु कामदारवाट फिजीको नागरिक हुन चाहान्थे । सन् १९७७ मा फिजीमा ६ लाख जनसंख्या हुँदा भारतीय आप्रवासीको संख्या ५० प्रतिसत पुगिसकेको थियो । भारतीय जनसंख्या बढ्दैजाने मुल कारण उनीहरुलाई फिजी खुला थियो । अर्थात फिजी जान पासवर्ड नचाहिने ब्यवस्था सन् १९२० मा नै भइसकेको थियो ।

फिजीमा भारतीय मुलका नागरिकप्रति त्यहाँको सरकार अनुदार रहेको भन्दै भारतले कुटनीतिक तहमा मिलाउने प्रयास लामो समय जारी राख्यो । तर, रैथाने फिजियनहरु यो कुरा सुन्न चाहादैनथे । त्यसपछि भारतले यो विषयलाई अन्तर्राष्ट्रियकरण समेत गर्यो । तत्कालीन प्रधानमन्त्री राजिव गान्धीले संयुक्त राष्ट्र संघमा यो कुरालाई जोडतोडका साथ उठाए । भारतका अन्य प्रधानन्त्रीहरुले समेत फिजीमा भारतीय आप्रवासीलाई सजिलै नागरिकता दिनुपर्ने ‘लबिङ’ कायम राखे । देशभित्र बहुमत संख्यामा रहेका भारतीयहरुको माग र अन्तर्राष्ट्रिय दवावका कारण फिजीको संस्थापन पक्ष नागरिकता वितरण खुकुलो बनाउन बाध्य भयो । सन् १९९७ मा आएको संविधानको अधिकार प्रयोगगरी एकैपटक ३ लाख भारतीय मुलका मानिसले फिजीको नागरिकता प्राप्त गरे । त्यसपछि फिजीलाई ‘मिनी इन्डिया’ भन्न थालियो ।

यसवीचमा फिजीमा केही पटक सत्ता हेरफेर भए । खासगरी फिजीमा रैथाने र भारतीय मुलका मानिसहरुको सोच र अधिकारको कुरालाई लिएर राजनीतिक अस्थिरताहरु भए । तर, सन् १९९९ मा भएको चुनावले भरतीय मुलका महेन्द्र पाल चौधरीलाई प्रधानमन्त्री बनायो । चुनावअघिसम्म फिजीकै विकासको विषयमा केन्द्रीत हुने चौधरी प्रधानमन्त्री बनेपछि भने भारतीय सरकारको नीति र निर्देशनमा चल्न थालेको फिजियनहरुको आरोप रहँदै आएको छ । त्यतिमात्र होइन त्यहाँका आदिवासीहरुप्रति चौधरी सरकार कठोर बन्दै गयो । खास फिजियनहरुलाई राजधानी सुभावाट बिस्थापित गर्ने, उनीहरुलाई विभिन्न बहानामा दुख दिने लगायतका कार्यहरु गर्न थालेपछि त्यहाँको सेना आदिवासीको पक्षमा कदम चाल्न बाध्य भयो । र, भारतीय मुलका प्रधानमन्त्री चौधरीलाई अपदस्त गरियो । उनलाई ५६ दिनसम्म हिरासतमा समेत राखियो । सैनिक सरकारको रबैयाले फिजीवाट भारतीय मुलका नागरिकलाई अन्यत्र बसाई सर्न बाध्य पारिएको महेन्द्र चौधरीको आरोप रहँदै आएको छ । यद्यपि भारतले ४४ प्रतिसत फिजियनहरुको साथ महेन्द्र चौधरीलाई भएको भन्दै पुर्नवहालीको माग गरेको थियो । तर, त्यो अवस्था लामो समय रहेन । आदिवासीहरु सक्रिय भए र राष्ट्रियताको सवालमा चट्टानी अडानमा कायम रहे । साथै फिजी प्रवेश र नागरिकतामा कडाई हुन थालेपछि भारतीय आप्रवासीहरुको प्रतिसत घट्न थाल्यो । यतिवेला भारतीयहरु ५० प्रतिसतवाट घटेर ३८ प्रतिसतमा झरेका छन् भने उनीहरुको राजनीतिक चलखेललाई पूर्ण नियन्त्रण गरिएको छ । भारतीय आप्रवासी र भारतीय सरकारको चलखेलका कारण सधैं अशान्त हुने फिजीले महेन्द्र चौधरीलाई अपदस्त गरेपछि शान्तिको सास फेर्न थालेको छ ।

स्रोत – वीवीसी हिन्दी, वीकिपिडिया, लाइभ हिन्दूस्तान डटकम, अन्य भारतीय तथा नेपाली अनलाइन तथा पत्रपत्रिकाहरु

प्रतिकृया