• २५ भदौ २०८३, बिहीबार
  • १०ः१५ राती

आज नेकपा स्थायी कमिटी बैठकमा १८ जनाले धारणा राखे, सीमा अतिक्रमणको विषय प्राथमिकतामा

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०९:२७

 

National Life

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेपालको भारत र चीनसँगको सीमा विवादको विषय उठेको छ । आजको बैठकमा १८ जना स्थायी कमिटी सदस्यले आआफ्नो धारणा राख्दै नेपालीको भारत र चीनसँगको सीमा विवादको विषयलाई उठाएका छन् ।

आजको बैठक बुधबार तय गरिएका एजेन्डा प्रवेश गरेसँगै १८ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा आफ्नो धारणा राख्ने क्रममा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको भारत र चीनसँग सम्बन्धित सीमा विवादका विषयमा आफ्नो धारणा राखेका थिए।

मन्त्री ज्ञवालीले भारतलाई वार्ताका लागि पटक(पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए।

उनले सीमा विवादका विषयमा अहिलेसम्म भएको विकासक्रमका विषयमा जानकारी गराएका थिए। अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसँग पहल गरिरहेको जानकारी बैठकलाई गराएको प्रवक्ता श्रेष्ठले जानकारी लिए।

बैठकमा भएको छलफलको विषय जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भने, ‘भारतले अहिलेसम्म वार्ताका लागि सकारात्मक भएको छैन। हामी आशा गर्छौं भारत वार्ताका लागि तयार हुनेछ। कूटनीतिक माध्यमबाटै समस्याको समाधान गर्ने विषयमा टुंगोमा पुगिने मन्त्री ज्ञवालीले बताउनु भएको थियो ।’

मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनद्वारा पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै प्रचार गरिएको विषयमा पनि बैठकलाई जानकारी गराएका थिए। चीनले पनि नेपाली भूमि मिचेको भनेर समाचार आएको भन्दै त्यो झुठो र भ्रामक प्रचार भएको भनेर जानकारी गराएका थिए।

त्यस्तै स्थायी समिति सदस्यहरू लिलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, छविलाल विक, अमृत बोहोरा, पम्फा भुसाल, शंकर पोखरेल, वेदुराम भुसाल, रघुविर महासेठ, भिम रावल, मुकुन्द न्यौपाने, भिम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र नारायणकाजी श्रेष्ठले आफ्नो विचार राखेका थिए ।

बैठकमा नेताहरूले अतिक्रमित भू(भागका विषयमा भए गरेको कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकारलाई सुझाव दिएका छन्। त्यसमा अझै एकताबद्ध ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिएका थिए।

लिम्पियाधुरा, कालापानी, लिपूलेक तथा सुस्तालगायत मिचिएका भूमि फिर्ता ल्याउने विषयमा सरकारले पहल गरोस् भन्नेमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए।

अर्को बैठक शनिबार बिहान ११ बजे फेरि बस्ने श्रेष्ठले बताए।

प्रतिकृया