• २४ भदौ २०८३, बुधबार
  • ७ः५८ बेलुका

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यकः गृहमन्त्री थापा

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०३:४५

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रत्येक वर्ष जुन २६ अर्थत आज मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिनुभएको छ ।

National Life

कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार सँगसँगै लागुऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणको कार्यमा आआफ्नो क्षेत्रबाट गरिएका प्रयासको उहाँले प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ । ‘लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध सबै निकाय एवं आमसमुदायको साथ र सहयोगका लागि अपिलसमेत गर्दछु’, मन्त्री थापाले सन्देशमा भन्नुभएको छ ।

लागुऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषणा भई विगत तीन दशकदेखि यो दिवस मनाउन थालिएको हो । आज सारा विश्व र मानव समुदाय नै कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले तथ्य र साझा दायित्वमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा पनि वर्षेनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरुपमा यो दिवस मनाउने गरिएकोमा कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने सन्दर्भमा यो वर्ष दिवसका औपचारिक कार्यक्रम गर्न नसकिएको गृहमन्त्रालयले जनाएको छ । यद्यपि कोभिड–१९ को सङ्क्रमणबाट लागुऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा संलग्नमा समेत ठूलो प्रभाव परेका कारण महामारीबाट सुरक्षित रहँदै लागुऔषध दुरुपयोग र यसको कारोवार नियन्त्रणका कार्य भइरहेको मन्त्री थापाले बताउनुभएको छ । मन्त्रालयबाट उपचार तथा पुनःस्थापना केन्द्र तथा अन्य सेवा केन्द्रबाट सेवा प्राप्त गरिरहेका व्यक्तिको दैनिक जीवनयापनमा कोभिडले पारेको प्रभाव न्यूनीकरणमा निरन्तर सहजीकरण भइरहेको सन्देशमा उल्लेख छ ।

मन्त्री थापाले सन्देशमा मन्त्रालयले प्रतिकूल अवस्थामा लागुऔषध कारोवारमा संलग्नले नयाँ मार्ग र विधिको प्रयोग गरी तस्करीका गतिविधि बढाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीति अवलम्बन गरिरहेको उल्लेख गर्नुभएको छ । यसको अझ प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सबैको सामूहिक प्रयास भने अपरिहार्य छ ।

नेपालमा लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण कार्यलाई प्रमाणमा आधारित एवं सूचित नीति र कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने कुरालाई मध्यनजर गरी नेपाल सरकारले यसै वर्ष नेपाल लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण गरिसकेको छ । दिवसको अवसरमा लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणको कार्यमा मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै यसको नियन्त्रणमा साझा जिम्मेवारी रहेकोसमेत उल्लेख गरिएको छ ।

प्रतिकृया