मेलम्ची खानेपानी असार मसान्तमा सुन्दरीजल सम्म आइपुग्छः मन्त्री मगर
प्रकाशित मिति
२०७७ असार ११ गते, बिहीबार १०:०३
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तसम्ममा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छिन् ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ एक प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताएकी हुन् । अस्थायी डाइभर्सनको लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको मगरको भनाइ छ ।

मगरले असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभामा प्रतिबद्धता जनाइसकेका छौँ र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा परीक्षण र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढङ्गले वितरण प्रक्रिया अगाडि बढ्छ बताएकि छिन् ।
समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीजलसम्म पानी खसाल्नुले मात्रै आयोजना पूरा नहुने भएकोले काठमाण्डौबासीको घरघरमा पानी पुर्याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिइन् ।
सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाण्डौमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सीएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।
सांसद गणेश पहाडीले सीएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भुक्तानीको विषयमा के भइरहेको छ भन्दै प्रश्न गरेका थिए ।
सांसद रंगमती शाहीले अहिलेसम्म नागरिकले मेलम्चीको पानी किन खान पाएनन् भन्दै प्रश्न गरिन । मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ ।
अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।




प्रतिकृया