शिक्षा र श्रम वीचको सम्वन्ध सेतुः राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली
प्रकाशित मिति
२०७७ जेष्ठ ९ गते, शुक्रबार ०१:१४
बिनोद बडाल
शिक्षाको डिग्री वा उपाधी हातमा लिएर पनि केही काम गर्न नसक्ने वा हातमा व्यावसायिक सीप भएर पनि प्रमाणपत्र खोज्ने परम्पराको अन्त्य गर्न, औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई परीक्षण गरी श्रम बजारले तयार गरेको दक्षताको स्तर तथा मापदण्डसँग योग्यता निर्धारण गर्न र त्यस्ता योग्यतालाई शिक्षा र श्रमको मूलधारमा समायोजन गरी रोजगारीसँग जोड्न वा उच्च शिक्षाको अवसर प्रदान गर्न राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (नेशनल भोकेसनल क्वालिफिकेसन सिष्टम) को स्थापना अपरिहार्य छ।यसले पूर्व सिकाईलाई मान्यता प्रदान गरी जीवनपर्यन्त सिकाइ (लाईफ लङ्ग लर्निङ्ग) लाई प्रबर्द्धन गर्दछ।अर्थात, शिक्षालाई श्रमसँग र श्रमलाई शिक्षासँग जोडेर यी दुबैको संगम स्थल रोजगारी बनाउँन सकिन्छ, त्यसैले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीलाई शिक्षा र श्रम विचको सम्वन्ध सेतु हो भनेर भन्न सकिन्छ।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीका मुख्य उद्देश्य के हो ?
· योग्यताहरूको वर्गिकरण, विकास, स्तरीकरण तथा समायोजनको राष्ट्रिय आधार निर्माण गर्ने,
· श्रम बजार तथा उद्योगमा आवश्यक श्रमिकको तहगत योग्यताको विकास गर्ने,
· जीवन पर्यन्त सिकाईबाट प्राप्त शिक्षा, तालिम तथा श्रमलाई मान्यता प्रदान गर्ने,
· विभिन्न तहमा अध्ययन एवं स्थानान्तरणको लागि क्रेडिट ट्रान्सफरको अवसर प्रदान गर्ने,
· साधारण शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम विच समतलीय ९होरिजेन्टल० तथा लम्बीय ९भर्टिकल० सह(सम्बन्ध कायम गरी दोहोरो प्रवेश तथा निकासको व्यवस्था गर्ने,
· शैक्षिक उपलब्धि, दक्षता तथा योग्यताको गुणस्तर अभिबृद्धि एवं सुनिश्चित गर्ने,
· श्रमको संसार र शिक्षाको संसार बिचको सुमधुर र पारस्परिक सम्बन्ध बिस्तार गर्ने, आदि।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीबाट बिद्यार्थी, श्रमिक तथा सर्वसाधारणलाई के फाइदा हुन्छ ?
· आफ्नो ज्ञान, सीप तथा दक्षताको स्तर कायम गरी योग्यताको प्रमाण प्राप्त हुन्छ।
· आफुसंग कुन योग्यता छ र के के दक्षताको कमी छ भन्ने कुरा थाहा पाउन सकिन्छ।
· ब्यक्तिगत, मेसिन तथा औजार, उपकरणको सुरक्षाका साथै कार्यस्थलमा हुने दुर्घटना कम गर्दछ।
· राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा प्रणालीको मूल प्रवाहीकरणमा समावेश हुन पाईन्छ।
· राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा रोजगारीको अवसर एवं वृति विकास हुन्छ।
· सीपयुक्त र रोजगार भई आयमा बृद्बि, जीवनस्तरमा सुधार एवं गरिबीबाट मुक्त भईन्छ।
· आफ्नो क्षमता र अवस्था अनुकुल शिक्षाको माथिल्लो डिग्री वा तह बृद्बि गर्न सकिन्छ।
· ईच्छा अनुसारको कुनै एक क्षेत्र भित्र रहेर वा शिक्षाको एक धारबाट अर्को धारमा वा अन्य क्षेत्रमा गएर अझ राम्रो उन्नती पथ तथा वृति विकाश गर्ने अवसर मिल्दछ।
· समाजमा आत्मसम्मानका साथ सम्मानित जीवन यापन गर्न सकिन्छ।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीबाट श्रम वजार, उद्योग, रोजगारदाताहरूलाई के फाइदा हुन्छ ?
· आवश्यकता अनुसारको तह र योग्यता भएका प्रमाणिकरण गरिएका गुणस्तरीय दक्ष जनशक्तिको सहज आपूर्ति हुन्छ।
· उद्योग वा कार्य क्षेत्रमा आवश्यक पर्ने श्रमशक्ति उद्योग, प्रतिष्ठान स्वयंले तयार गर्नु पर्दैन यसले उद्योग, व्यावसायीको लागत कम गर्दछ।
· नयाँ भर्ना भएका कर्मचारीको लागि आवश्यक सेवाकालीन तालिमको खर्चलाई घटाउँछ।
· कामदार श्रमिक, मेसिन, औजार, उपकरण तथा कार्यस्थलको सुरक्षाको प्रत्याभुत गर्दछ।
· कार्यस्थलमा हुने सम्भाबित दुर्घटना, जोखिम तथा आगलागीबाट हुने जनधनको क्षतिबाट संस्थालाई हुने नोक्सानबाट बचाउँछ।
· बस्तु तथा सेवाको गुणस्तर बृद्धि गर्नुका साथै उत्पादकत्व वढाउन सहयोग गर्दछ।
· संस्थाको बिश्वसनियता (क्रेडिबिलिटी) र बजारीकरणमा टेवा पुग्छ।
योग्यता प्रणालीबाट शैक्षिक निकाय तथा तालिम प्रदायक संस्थाहरूलाई के फाइदा हुन्छ ?
· उत्पादित जनशक्तिले सजिलै रोजगार प्राप्त गर्न सक्छन्।
· राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप अनुसारको पाठ्यक्रम निर्माण, प्रशिक्षण तथा मूल्याङ्कन प्रणाली अबलम्बन गर्दा शिक्षाको गुणस्तरमा एकरुपता कायम हुन्छ।
· बजारको मागमा आधारित बास्तबिक तालिम कार्यक्रम संचालन गर्न र कार्यस्थलसँगको सहयोग, समन्वय र संलग्नता वढाउन सहयोग गर्दछ।
· संचालित कार्यक्रमहरूको प्रभावकारीता र बिश्वसनियता बढ्छ।
· संस्थाको प्रचार प्रसार स्वतस् हुने भएकोले यसमा लाग्ने बिज्ञापन खर्च र समयको बचत गर्दछ।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीबाट समाज वा राष्ट्रलाई के फाइदा हुन्छ ?
· राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप अनुसारको पाठ्यक्रम निर्माण, प्रशिक्षण तथा मूल्याङ्कन प्रणाली अबलम्बन गर्दा शिक्षाको गुणस्तरमा एकरुपता कायम हुन्छ।
· अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन प्रणाली सरल, सहज र एकरुपता कायम गर्न मद्दत गर्दछ।
· राष्ट्रिय शैक्षिक र व्यावसायिक योग्यता प्रणालीगत व्यवस्थाको बिश्वसनिय र गुणस्तरीय सुनिश्चितताको प्रत्याभुत गर्दछ।
· शैक्षिक उपलब्धीलाई समय अबधिको पाबन्दीको आधारमा भन्दा सिक्न खोज्ने ब्यक्तिको अनुकुलता अनुसार लचकता र छनौटको अवसर प्रदान गर्दछ साथै प्रमाणपत्र मुखि शिक्षा भन्दा योग्यता मुखि शिक्षालाई पृष्ठपोषण गर्दछ।
· अन्तर्राष्ट्रिय मान्यता उपलव्ध गराई एक देशमा प्राप्त योग्यतालाई अर्को देशमा सजिलै मान्यता दिने गरी क्रेडिट ट्रान्सफरको व्यवस्थामा सहजिकरण गर्दछ।
· राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा नेपालको शिक्षा, तालिम र वृत्ति विकासमा पहुँच, गतिशिलता र माथिल्लो तहसम्म जाने वाटो खुल्ला गर्दछ।
· समाजिक तथा आर्थिक बिकासमा सहयोग गर्दछ।
· संविधानको मर्म तथा शिक्षा, श्रम, रोजगारी तथा समानता सम्बन्धी मौलिक हकको सफल कार्यान्वयनमा सहयोग गर्दछ।
नेपालमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली स्थापनाका लागि के–के प्रयासहरू भए ?
नेपालमा विगत लामो समय देखि राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको अपरिहार्यता महशुस गरी विभिन्न प्रतिवेदन तथा रणनीतिक दस्तावेजहरूमा उल्लेख गरिएको पाईन्छ। त्यस मध्ये केही प्रयासहरू राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको स्थापनाका आधारको रुपमा तल उल्लेख गरिएको छ।
· राष्ट्रिय शिक्षा आयोग, २०४९ को प्रतिवेदन
· उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५ को प्रतिवेदन
· प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम नीति,२०६९
· नेपालको संविधान
· स्वीस सरकार र नेपाल सरकार विच २०७२ मा सम्पन्न द्विपक्षिय सम्झौता
· शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको शिक्षा सम्बन्धी १० बुँदे मार्गचित्र, २०७५
· प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम नीति, रणनीति र संरचना अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन, २०७५
· उच्च स्तरीय शिक्षा आयोगको प्रतिबेदन, २०७५
· तेह्रौ र चौधौं योजना तथा पन्ध्रौं योजना (२०७६/७७ (२०८०/८१) को आधार पत्र
· राष्ट्रिय शिक्षा निति २०७६ मा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम र राष्ट्रिय योग्यता प्रणालीको प्राबधान
· शिक्षाका लागि अन्तर्राष्ट्रिय एजेण्डा तथा दिगो विकास लक्ष्य (एसडिजी) को ४ नं. लक्ष्यमा सन् २०३० भित्र समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सिकाईको प्रवर्द्धन गर्ने सरकारको प्रतिवद्धता एवं नेपालको राष्ट्रिय प्रारुप (एनएनफ) २०७६
· सन् २०१२ मा चीनको सांङ्घाईमा सम्पन्न प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी तेश्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा ९सांङ्घाई कनसेन्सस०
· अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलो) र यूनेस्को यूनिभोकको निरन्तर प्रयास, सहयोग, समन्वय र प्रतिबद्धता।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीका मुख्य आधारहरू के के हुन् ?
· राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप (नेशनल भोकेसनल क्वालिफिकेसन फ्रेमवर्क)
· राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली सम्बन्धी कानूनी व्यबस्था (ऐन, नियमावली, कार्यबिधी)
· प्रारुप कार्वान्ययनका लागि संस्थागत संरचना (राष्ट्रिय व्यावसायिक योग्यता प्राधिकरण)
· सरोकारवाला निकायको सहभागिता (रोजगारदाता तथा पेशागत संघ, संगठनको भूमिका)
· गुणस्तर सुनिश्चितता प्रणाली (क्वालिटी एसुरेन्स सिष्टम)
राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप (एनभिक्वूएफ) के हो ?
श्रम बजारको माग तथा कार्य प्रकृतिका आधारमा र्औपचारिक तथा अनौपचारिक रूपमा सिकेको सिकाई उपलब्धीलाई ज्ञान, सीप र दक्षताका आधारमा व्यावसायिक योग्यताहरू निर्धारण गरी श्रृङ्खलाबद्ध रुपमा बर्गिकरण गरिएको तहगत संरचनालाई राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप० भनिन्छ।यो पेशागत दक्षता मापन गर्ने एउटा महत्वपूर्ण औजार हो जसले व्यावसायिक एवं साधारण शिक्षाका दुई धार बिचको सम्बन्ध तथा पारगम्यताको अवस्था देखाउछ।राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप बिभिन्न देश अनुसार फरक फरक हुन्छ। नेपालमा तह १ देखि ८ सम्मको राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप र राष्ट्रिय योग्यता प्रारुप प्रस्ताव गरिएको छ जुन तल क्रमशः चित्र १ र चित्र २ मा प्रस्तुत गरिएको छ।


स्रोतः राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना, २०७६
नेपालको शैक्षिक संरचना र श्रम बजारको तहगत पद सोपान बीचको अन्तरसम्बन्धलाई समायोजन र व्यबस्थित गरी शिक्षा र श्रमलाई सुदृढ बनाई देशको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउन ८ तहको प्रारुप प्रस्ताव गरिएको हो।अन्तर्राष्ट्रिय अभ्यासमा अधिकांश देशहरूमा ८ तहकै योग्यता प्रारुप अबलम्बन गरेको कारणले पनि यो बढि बैज्ञानिक, उपयोगी र प्रभावकारी देखिन्छ।नेपालको समग्र शिक्षा र तालिम पद्धतिलाई स्तरीकृत गर्ने, औपचारिक, अनौपचारिक तथा जीवनपर्यन्त सिकाईबाट प्राप्त ज्ञान, सीप तथा दक्षतालाई मूल्यांकन गरि योग्यताको निर्धारण, वर्गिकरण र प्रमाणिकरण गरिन्छ।साथै साधारण शिक्षाको धारबाट प्रबिधिक शिक्षाको धार वा प्रबिधिक शिक्षाको धारबाट साधारण शिक्षामा जान पाउने दोहोरो व्यवस्थाको सुनिश्चतता कायम गरी शैक्षिक न्याय र समानताको सिद्धान्तको सफल कार्यान्वयनमा यसको महत्वपूर्ण भूमिका रहन्छ।
राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको संस्थागत संरचना कस्तो हुनु पर्दछ ?
औपचारिक वा अनौपचारिक सिकाईबाट हासिल गरेका ब्यावसायिक सीपको स्तरीकरण, वर्गीकरण गरी सीप परीक्षण र प्रमाणीकरण गर्ने उद्धेश्यका साथ नेपालमा बि।सं। २०३९ सालमा सीप परीक्षण परिषद्को स्थापना भई अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा पेशागत सीप प्रमाणिका तयार गरी सीप परीक्षण र प्रमाणिकरण कार्य शुरु भएको हो।यस कार्यलाई प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन २०४५ लागु भए पश्चात थप व्यवस्थित बनाई तह १ देखि तह ४ सम्मको सीप परीक्षण गरी हालसम्म करिब ४ लाख नेपालीको सीप प्रमाणिकरण गरिसकेको पाईन्छ। तत्कालिन अवस्थामा कामको लागि मात्र सीप परीक्षण गर्ने प्रावधान रहेकोमा यसलाई कामको संसार र शिक्षाको संसारसँग एकाकार गरी एक प्रकारको शैक्षिक धारबाट अर्को प्रकारको शैक्षिक धारमा अध्ययन गर्न पाउने तथा तल्लो तहबाट माथिल्लो तहमा समेत जान पाउने व्यवस्था सुनिश्चित गरिनु पर्दछ। यसले नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक अन्तर्गतका शिक्षा, श्रम, रोजगारी, सामाजिक न्याय र समानताको हक स्थापित गर्दछ। विभिन्न संस्थाद्धारा प्रदान गरिएको शैक्षिक उपाधीको अन्तरसम्बन्ध निर्धारण र ती निकाय बीच समन्वय र सहकार्यका लागि आवश्यक सहजिकरण गर्न तथा शिक्षा र श्रमबजार बीचको अन्तरसम्बन्ध सुदृढ गरी देशको आर्थिक र सामाजिक विकासमा सहयोग गर्दछ।राष्ट्रिय व्यावसायिक योग्यताको मापदण्ड तयार गरी निर्धारित प्रारुपको कार्यान्वयन र नियमन गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्ने गरि र्प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिलाई अधिकार सम्पन्न स्वसासित एवं सक्षम संस्था बनाउन छुट्टै ऐनको आवश्यकता पर्दछ।
नेपालको सन्दर्भमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली बिल्कुल नयाँ होईन यो सीपको बर्गिकरण, परीक्षण र प्रमाणिकरणको समय सापेक्ष परिस्कृत रुप हो।जसरी बिज्ञान र प्रबिधिको बिकास र बिस्तारले मोवाईलको आकार, प्रकार र बिशेषता, फिचरमा परिवर्तन भई पाँचौं जेनेरेसनको मोवाईल बजारमा आएको छ ठिक त्यसैगरी व्यावसायिक योग्यता प्रणालीको अन्तर्राष्ट्रिय अभ्यासमा पनि चौंथो जेनेरेसनको योग्यता प्रारुप कार्यान्वयन भई रहेको सन्दर्भमा नेपालमा पनि सीप परीक्षणको बिध्यमान तह ४ सम्मको पुरानो प्रणालीलाई समय सापेक्ष परिमार्जन गरी तह ८ सम्मको योग्यता प्रणालीमा रुपान्तरण गर्नु परेको हो। त्यसको लागि बिध्यमान ऐन कानूनमा परिमार्जन गरी राष्ट्रिय सीप परीक्षण समिति (एनएसटिबी) लाई नै राष्ट्रिय व्यावसायिक योग्यता प्राधिकरण (एनभिक्वूए) मा रुपान्तरण गर्नु पर्दछ।

राष्ट्रिय व्यावसायिक योग्यता प्राधिकरण (एनभिक्वूए) किन चाहिन्छ ?
व्यावसायिक योग्यता प्रारुप अनुरुप योग्यता परिक्षण गरी प्रमाणिकरण गर्ने गरी राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीलाई संस्थागत गर्न राष्ट्रिय व्यावसायिक योग्यता प्राधिकरणको आवश्यकता पर्दछ।यस प्राधिकरणले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीले निर्धारण गरेका कार्यहरूको कार्यान्वयन एवं नियमन गर्दछ।व्यावसायिक योग्यताका मापदण्डहरूको निर्माण र परिमार्जन गर्ने, परीक्षणका कार्यक्रमहरू संचालन गर्ने, राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपको अन्तर्राष्ट्रिय मान्यताका लागि अन्तर्राष्ट्रिय रुपमा समन्वय र सम्बन्ध स्थापित गराउने र योग्यता परीक्षणको बैधता र बिश्वसनियता कायम राख्न गुणस्तर सुनिश्चितताको प्रत्याभुति गर्ने कार्य सम्पादन गर्न नेपालमा राष्ट्रिय व्यावसायिक योग्यता प्राधिकरण चाहिन्छ।
निष्कर्ष
कामको संसारलाई आबश्यक पर्ने दक्ष जनशक्ति तयार गरी शिक्षाको संसारसँग समन्वय र सहकार्य गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने मानव श्रमसाधन तयार गर्न र श्रम बजारमा कार्यरत श्रमिकको ज्ञान, सीप तथा दक्षताको परीक्षण गरी प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नेपालमा पनि राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको स्थापना गर्न अत्यावश्यक देखिन्छ। यसको लागि शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले बिज्ञहरूसँग ब्यापक छलफल बाट तयार भई पेश भएको नेपालको राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप मन्त्री परिषद्को आसन्न बैठकबाट स्वीकृत गरी यस सम्बन्धी ब्यवस्थापिकामा पेश भएको प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम बिधेयक यथाशिघ्र पारित गर्नु देशको हितमा हुने कुरा निर्बिवाद छ।






प्रतिकृया