• १६:२० २०८० चैत्र १५ गते
  • 4:20 pm

लकडाउन कहिलेसम्म ?

प्रकाशित मिति

२०७७ बैशाख २४ गते, बुधबार ०२:५९

photo5

लक्ष्मण प्रसाद खतिवडा

अन्ततः सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । हिजो मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो । त्यसैले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको सरकारले पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँनै लाग्दा लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण विश्वभर २ लाख ५० हजारभन्दा भन्दा बढी व्यक्तिहरुको मृत्यु भै सकेको छ । यो भाइरसबाट करिब ४० लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये करिब १२ लाख जना उपचार पछि घर फर्किसकेका छन् । नेपालमा पनि कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ८२ पुगेको छ भने उपचार पछि घर फर्किनेको संख्या २२ पुगेको देखिन्छ ।

हालसम्म यस भाइरसको कारण कसैको मृत्यु नहुँनु हाम्रो लागि सकारात्मक पक्ष हुँदाहुँदै पनि नेपाल सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेश तथा स्थानीय निकायलाई सशक्त बनाए पनि शीघ्र पहिचान, निगरानी र व्यवस्थापन गर्न नसक्दा यसको संक्रमण बढ्दो गतिमा रहेको देखिन्छ । अझै उपचारपछि निको भएर घर फर्किएकामा समेत फेरि कोरोना सङ्क्रमण देखिनु, बच्चामा पनि कोरोना संक्रमण भेटिनुले हामीलाई थप सशङ्कित बनाएको छ ।

नेपाल सरकारले तत्काल मोडालिटी हेरफेर नगरी लकडाउन थपेकाले अत्यावश्यक र कृषि क्षेत्रबाहेक अन्यत्र लकडाउन खुकुलो नहुने भएको छ । संक्रमण नदेखिएका क्षेत्रमा कार्यालय तथा व्यवसाय सञ्चालनको माग बढेपनि संक्रमित व्यक्तिलाई हप्तौसम्म लक्षण समेत नदेखिने भएकोले यसो नगरिएको हो । हुनपनि नेपालमा संक्रमण देखिएका धेरै व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । त्यसैले अब सङ्क्रमितको परिवारका सदस्य, टोलबासी तथा सम्पर्कमा रहेकाको समेत व्यापक परीक्षण गर्न जरुरी छ । लक्षण बिना नै संक्रमण देखिएको वर्तमान अवस्थामा सरकारले पर्याप्त परीक्षण गर्दै सबै संक्रमितको पहिचान गरी क्वारेन्टाइमा राख्न ढिला गर्नुहुँदैन। अन्यथा यसले ठूलै महामारीको रुप लिने देखिन्छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । यसको नियन्त्रणको लागि हालसम्म कुनै खोप तथा औषधि विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नुपर्नेछ । संक्रमण फैलिन नदिनका लागि हामीले भिडभाड नगर्ने, कम्तिमा एक मिटरको दूरी कायम गर्ने, माक्स लगाउने, साबुन पानीले बारम्बार हात धुने, स्यानीटाइजर लगाउने, खोक्दा तथा हाच्छ्यु गर्दा कुहिनाले मुख छोप्ने गर्नुपर्दछ । भाइरस शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्नु उचित देखिन्छ । हुनपनि कोरोना संक्रमण छ कि छैन भनेर निश्चित गर्न परिक्षणको आवश्यकता पर्दछ ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिम घटाउन लकडाउन गरेपनि संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । लकडाउनका कारण सीमा बन्द छ, सडक ठप्प छ । तरपनि पूर्वी तथा तराईका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढ्दो गतिमा देखिन्छ । यसको जोखिम उच्च भएकाले हामीलाई सामाजिक दूरीमा बस्न बाध्य बनाएको छ । लकडाउनप्रति मानिसहरुले देखाएको अनुशासनले नै संक्रमण फैलिन नपाएको भएपनि कोरोना संक्रमितलाई आफन्तले प्रत्यक्ष रेखदेख गर्न पाएका छैनन् । अझ डराई पर बस्नुपर्ने अवस्था सृजना भएको छ । अब कोरोना संक्रमण हुन नदिन पूर्वतयारी गर्दै परिक्षणको दायरा बढाई सामाजिक दूरी, पोषिलो खाना तथा सरसफाइमा ध्यान दिने हो भने यसको संक्रमणबाट छिट्टै मुक्ति पाउन सकिन्छ । यसो गर्न सकेमा लकडाउन विस्तारै खुली हामी दैनिक जीवनयापनमा फर्किने निश्चित छ ।

 

प्रतिकृया