नेपालगञ्जमा ८३ जनाको स्वाब सङ्कलन
प्रकाशित मिति
२०७७ बैशाख २१ गते, आईतवार ११:१८

नेपालगञ्ज । नेपालगञ्जमा शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।
शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो ।
आइतबार नै उनीहरुको कोरोना रिपोर्ट आउने छ । सो टोलमा कोरोना संक्रमित व्यक्ति दैनिक मस्जिद तथा मदरसामा आएको देखिएकाले त्यहाँ रहेका ७८ जनालाई टोललाई नै एकान्तबास बनाएर राखिएको छ ।
स्थानीय प्रशासनले शुक्रबार रातिदेखि नै सो टोललाई बन्द गरेको छ । अब १४ दिनसम्म टोलभित्र आवतजावत ठप्प गराइएको छ । सङ्क्रमितका परिवार र आफन्त आठ जनालाई शनिबार नै महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिएको छ ।



प्रतिकृया