चन्द्रागिरिमा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक हजारसम्म जरिवाना
प्रकाशित मिति
२०७७ बैशाख १७ गते, बुधबार ०६:२०
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको जनाएको छ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको बताए ।‘एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ, रसिद काटेर नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरेका महर्जनले बताए।
थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार नगर सुरक्षा समितिको निर्णयपछि २८ चैतबाट यो अभियान थालिएको हो । ‘लकडाउन उल्लंघन गरे एक सय रुपैयाँ र लकडाउनको समयमा मदिरा पसल खोले एक हजार रुपैयाँ जरिवाना संकलन हुँदै आएको छ’, श्रेष्ठले भने, ‘कसूर अनुसार जरिवाना रकम पनि भिन्दाभिन्दै छ ।’
उनका अनुसार जरिवाना गर्न थालिएपछि सडकमा सर्वसाधारण निस्किने क्रम न्यून भएको छ ।
नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । त्यसदेखि बाहेकको समयमा सडकमा निस्किने क्रम अत्यन्त न्यून भएको छ । ‘जरिवानाको नियम लागू गरेको सुरुवाती दिनमा ४८ जनासम्म एकैदिन कारबाहीमा परेको रेकर्ड छ’, प्रहरी अधिकारीहरु भन्छन्, ‘अहिले यो संख्यो घट्दो छ ।’
जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी नै खटाएको छ । उनीहरुमध्ये दुई जना प्रहरीको मोबाइल टोलीसँगै हुन्छन् भने ६ जनालाई विभिन्न चोकमा राखिन्छ ।







प्रतिकृया