कोरोना भाइरसको संक्रमण रोक्न नेपाली सेनाको भूमिकाको प्रशंसा योग्य रहेकोः प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७६ चैत्र २७ गते, बिहीबार ०५:४२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका बताएका छन् ।
भक्तपुरको खरिपाटी स्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने नवआयुक्त अधिकृतलाई पठाएको सन्देशमा उनले भविष्यमा आउन सक्ने विभिन्न किसिमका महामारीको सामना गर्न नेपाली सेना र अन्य सुरक्षा निकायलाई सजग तथा सतर्क रहँदै आपसी समन्वयमा रहन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली सेनाले चीनबाट नेपालीलाई उद्धार गरी ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखेर उचित व्यवस्था गर्न ठुलो भूमिका रहेको यो प्रशंसायोग्य रहेको बताएका छन् ।
सेनाले सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा स्थापित गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापन, पूर्वाधार विकास, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय सङ्कटमा जनतासँग सहकार्य गर्दै आएको बताएका छन्
उनले सन्देशमा सेनाले नेपाल र नेपाली जनताप्रति सदा बफादार रही आफ्नो कार्य गर्दै आएको छ, नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सक्षम एवं बहुआयामिक सङ्गठनका रुपमा विकसित भइरहेको बताएका छन् ।
समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नवआयुक्त अधिकृतलाई बधाई ज्ञापन गर्दै आफू र मातहतका जवानको सुरक्षा सुनिश्चित गर्दै राष्ट्र र राष्ट्रवासीको विश्वास र भरोसा माथी खरो रुपमा उत्रिन निर्देशन दिएका छन् । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी सीमित व्यक्तिको उपस्थितिमा सुरक्षात्मक उपाय अपनाई उक्त समारोह गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।






प्रतिकृया