सवारी पास लिएर लागूऔषध तस्कर गर्ने दुई युवा पक्राउ
प्रकाशित मिति
२०७६ चैत्र २६ गते, बुधबार ०९:३२
विराटनगर । दुईवटा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर लागूऔषध तस्करी गर्ने दुई युवा पक्राउ परेका छन् ।
सिराहाको गोलबजार नगरपालिका ३ बस्ने सन्तोष सिंह र मिर्चैया नगरपालिका– ५ बस्ने विजयकुमार मण्डलले जिल्ला प्रशासन कार्यालय सिराहबाट लिएको पासको दुरूपयोग गर्दै लागूऔषध तस्करी गरेको खुलेको हो ।
मंगलबार राति उनीहरूको साथबाट ३१ ग्राम ६९ मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो । उनीहरुको साथबाट बरामद लागूऔषधको प्रतिग्राम बजार मुल्य ५० हजार हाराहारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार प्रदेश २, ००१ प २६७२ नम्बरको मोटरसाईकलमा सवारलाई चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको थियो ।पक्राउ परेका युवाले मिर्चैयाको ७ नम्बर वडा कार्यालय र कर्जन्हा नगरपालि वडा नम्बर २ बाट सवारी पासका लागि सिफारिस लिएका थिए।
लक डाउनका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनको अनुमति लिएका युवकले शंकास्पद गतिविधि गरेपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनीहरुको साथबाट लागू औषध भेटिएको हो ।
मिचैयादेखि दमकसम्मको सवारी पास लिएर आएका उनीहरूलाई पूर्व–पश्चिम राजमार्गको बेलवारी नगरपालिका– ३ बाट मंगलबार राति करिब साढे ७ बजे पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरू लागूऔषध ओसारपसार गर्ने गिरोहको भरिया रहेको प्रहरीले बताएको छ । प्रहरीले लागूऔषध सप्लाई गर्ने दमकका व्यक्तिको पनि खोजी तीव्र बनाएको छ ।






प्रतिकृया