आजदेखि धुलिखेल अस्पतालमा कोरोना भाइरसको परीक्षण शुरू
प्रकाशित मिति
२०७६ चैत्र २३ गते, आईतवार ०९:३८
काभ्रे । आजदेखि धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण सेवा शुरू गर्ने भएको छ ।

हाल साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा.राजेन्द्र कोजूले जानकारी दिएका छन् ।
पर्याप्त पीपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जाकारी दिए ।
झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुने अनुमान गरेको छन् ।
यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो । कोरोनाको जोखिम बढे संगै प्रदेश प्रदेशमा कोरोना परिक्षण सुरु भएको छ ।



प्रतिकृया