• २२ भदौ २०८३, सोमबार
  • ६ः३१ बिहान

कोरोना भाइरसविरुद्धको लडाईंमा एकतावद्ध हुने सार्क राष्ट्रको साझा प्रतिवद्धता

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार ०६:३४

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखहरूले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा एकतावद्ध हुने साझा प्रतिवद्धता जनाएका छन् ।

National Life

आइतबार कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुबीच भएको भिडियो कन्फरेन्समा उनीहरुले कोरोना भाइरसविरुद्धको लडाईंमा सार्क राष्ट्रका मुलुकहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

भिडियो कन्फरेन्सको शुरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा कोरोना भाइरसको अवस्था र संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी दिए ।

Classic Tech Desktop

भिडियो कन्फरेन्समा प्रधानमन्त्री मोदीले भने, ‘कोरोनाविरुद्धको लडाईमा एकजुट बनौं, नआत्तिऔं ।’ प्रधानमन्त्री मोदीले आफ्नो भनाइ राखेसँगै अन्य सदस्य राष्ट्रका नेताहरूले पनि आ–आफ्नो मुलुकमा कोरोना भाइरसको संक्रमण रोक्न गरिएको प्रयासबारे जानकारी दिएका थिए ।

भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म कोरोना भाइरस नदेखिएको जानकारी दिँदै नेपालमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको प्रयासका बारेमा जानकारी दिए ।

‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म तयारी गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियस्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिँन भइरहेको तयारीको मैले आफैं निरीक्षण गरिरहेको छु ।’

सबै सार्क मुलुकका नेताहरुको आ–आफ्ना भनाइ राखेसँगै भारतीय प्रधानमन्त्री मोदीले कोभिड–१९ ‘इमरजेन्सी फन्ड’ बनाउने प्रस्ताव राखेका थिए । उनले उक्त फन्डमा भारतले १ करोड अमेरिकी डलर सहयोग गर्ने बताए ।

प्रधानमन्त्री मोदीले सो कोष सञ्चालनका लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गरेका थिए ।

उनले भारतले बनाएको इन्टिग्रेटेड डिजिज सर्भि्लियन्स पोर्टलको सफ्टवेयर अरू राष्ट्रलाई समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले कोरोना भाइरसविरुद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारुकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले कोभिडको प्रभावबाट आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावालाई दिन पनि सुझाव दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको उक्त प्रस्तावलाई सबै राष्ट्रका नेताहरुले स्वागतयोग्य भएको बताएका थिए ।

प्रतिकृया