• २९ भदौ २०८३, सोमबार
  • ५ः११ बेलुका

आलुको मूल्य बढेपछि किसान खुशी

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०४:३५

बनेपा, पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरेका छन् । गत वर्ष त्यही अनुपातमा खेती गरेको उहाँले यस वर्ष राम्रो आम्दानी पाएको बताए ।

National Life

पहिलो पटक खनेर बिक्री गरिसकेका उनले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताए । आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य पाएको अधिकारीको भनाइ छ । गत वर्ष किलोको रु २० देखि रु २२ सम्म मात्रै पाएको उनले बताए । पच्चीस रोपनीमा आलुुखेती गरेका उनले अझै चार(पाँच पटक खन्न बाँकी नै रहेको जानकारी दिए ।

सोही वडास्थित लाम्डीका अर्का किसान यादव अधिकारीले यस वर्ष आलुको राम्रो मूल्य पाइएको बताए । उनले यस वर्ष २० रोपनीमा आलुखेती गरेका छन् । गत वर्षको भन्दा यस वर्ष राम्रो मूल्य पाइरहेकाले आलुखेतीप्रति किसान उत्साहित भएका उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वडा नं ६ तीनपिप्लेका किसान बद्री ढुङ्गानाले यस वर्ष आलुको राम्रो मूल्य पाएकाले पाँचखालका किसान उत्साहित भएका बताए। आलुको राम्रो मूल्य पाएपछि अहिले पाँचखालका किसान खुशी भएका छन् । नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख ईश्वर अधिकारीले नगरपालिकामा यस वर्ष २६ हजार ५०० हेक्टरमा आलुखेती लगाइएको बताए ।

गत वर्षको भन्दा यस वर्ष किसानले प्रतिकिलो रु १० भन्दा बढी मूल्य पाएको उनको भनाइ छ । गत वर्ष किसानले प्रतिकेजी रु २० देखि रु २२ सम्ममा बिक्री गरेका थिए । काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलुमा बढीमात्रामा विषादी प्रयोग गरेको भन्ने आरोप खेप्दै आएकामा कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय हरिहरभवनअन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट गरिएको परीक्षणअनुसार सो आलुमा कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट प्रतिशत ११ भन्दा कम भएको पाइएको उनले बताए ।

विज्ञका अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट ३५ प्रतिशतभन्दा कम भएको आलु खानाका लागि योग्य भएको मानिन्छ । त्यसरी खेती गर्दै आएका किसानलाई सहयोगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइसुपरजोन ९आलु०ले विभिन्न प्रक्रियाबाट सहयोग गर्दै आइरहेको छ । किसानको सहजताका लागि गुणस्तरीय बीउ र खेतीमा सहजताका लागि औजारसमेत कम मूल्यमा पाउने गरी कस्टम हायरिङ सेन्टरसमेत स्थापना गरेर सहयोग गरेपछि किसानमा आलुखेती गर्न थप हौसला मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु) काभ्रेपलाञ्चोकका सञ्चालक समिति अध्यक्ष हरि खतिवडाले बताए ।

प्रतिकृया