गाँजरका फाइदाबारे जान्नुस र आजैबाट स्वास्थ्य रहनुस
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०५:५८
गाँजर ५ हजार वर्षअघि फेला परेको विश्वास गरिएको छ । गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ । गाँजरमा उच्च मात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ ।
यी हुन् गाँजरका फाइदाहरुः
छाला चम्किलो बनाउँछ
भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ ।
रतन्धो हुनबाट बचाउँछ
गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले रतन्धो हुनबाट समेत बचाउछ ।
मुटुको रक्षा
गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् ।
रोगप्रतिरोधी क्षमतामा वृद्धि
गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।
दाँतका लागि लाभदायी
यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।
बुढोपन रोक्छ
यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।
महिलाको महिनावारीमा लाभदायी
गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारी संबन्धी अन्य समस्या पनि हटाउछ ।
पाचन प्रणालीमा सुधार
गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ । कब्जियत हटाउछ ।
प्रतिकृया