• १७ असोज २०८३, शनिबार
  • ८ः३६ राती

‘काखा–पाखा गर्ने अख्तियारको विरोध गर्न आएका हौं, नेतालाई बचाउन होइन’

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०४:१९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको विरोधमा भ्रातृ संगठनहरूलाई सडक संघर्षमा उतारेको छ । अख्तियारले बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतालाई जोगाउँदै ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेर उपसभापति गच्छदारविरुद्ध मुद्दा दायर गरेको विरोधमा कांग्रेसले माइतीघर मण्डलामा भ्रातृ संगठनलाई सरकारविरद्ध उतारेको हो ।

National Life

मातृ पार्टीको निर्देशनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संयोजन गरेर सरकार र अख्तियारविरुद्ध माइतीघर मण्डलामा झन्डै डेढ घण्टा प्रदर्शन गरेको छ । कांग्रेसले बिहीबार भ्रातृ संगठनका पदाधिकारीहरूसँग छलफल गरेर सरकार र अख्तियारविरुद्ध सडक संघर्षमा जान निर्देशन दिएको थियो । “हामी यहाँ हाम्रा नेतालाई बचाउन आएका होइनौं । कसैलाई काखा कसैलाई पाखा गर्ने अख्तियारको कदमको विरोध गर्न आएका हौं,” नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आफूहरू प्रदर्शनमा उत्रिनुको कारण प्रस्ट्याउँदै प्रश्न गरे, “मन्त्रिपरिषद्मा निर्णय गर्ने माधव नेपाल, कारबाही गच्छदारलाई ? मुख्यसचिवलाई नहुने, सचिवलाई कारबाही हुने ?,”

Classic Tech Mobile
Classic Tech Desktop

उनले ललिता निवासको जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई पनि कानुनी दायरामा ल्याउन माग गरे । यस्तै नेविसंघका नवनियुक्त अध्यक्ष राजीव ढुंगानाले पनि शुक्रबारबाट सुरु भएको सडक संघर्ष उपसभापति गच्छदार जोगाउनका लागि नभएको जिकिर गरे । “यो आन्दोलन विजय गच्छदारलाई बचाउनु प¥यो भनेर भएको होइन । हाम्रा नेताले मुद्दा फेस गर्ने, निर्दोष पनि सावित हुने बताइसक्नु भएको छ,” उनले भने, “यो निर्णय गर्दै गर्दा प्रधानमन्त्री माधव नेपाल हुनुहुन्थ्यो ।

यो मुलुक प्रधानमन्त्रीय पद्धतिमा चल्छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर लालपुर्जा दिने र लिने निर्दोष ? जग्गा लेनदेन गराएर भूमाफियाबाट आठ आना जग्गा लिने विष्णु पौडेल निर्दोष हुने यो कहाँ को न्याय हो ?” “पार्टी एक भएर सडक आन्दोलन गर्नुपर्छ । यो आन्दोलन सरकार ढालेरमात्रै सम्पन्न गर्नुपर्छ,” उनले भने । अध्यक्ष बस्नेतले आगामी आइतबार तरुण दलको संयोजनमा हुन गइरहेको प्रदर्शन झनै आक्रामक हुने बताए । आइतबारको प्रदर्शनका क्रममा नयाँ बानेश्वरको निषेधाज्ञा तोडिन सक्ने बस्नेतको चेतावनी थियो । यस्तै नेविसंघका अध्यक्ष ढुंगानाले राणा, पञ्चायत र राजतन्त्र ढालेको कांग्रेसलाई वर्तमान सरकार ढाल्नु कुनै आइतबार कुर्नु नपर्ने पनि दाबी गरे ।

प्रतिकृया