चितवनको पर्यटन व्यवसायमा कोरोना भाइरसको असर
प्रकाशित मिति
२०७६ माघ १८ गते, शनिबार ११:०९
चितवन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय असर परेको व्यवसायीले बताएका छन् । तेस्रो पर्यटकीय गन्तब्य भनेर चिनिने चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै कम भएको छ ।
सौराहाका क्षेत्रिय होटल संघको अध्यक्षले सौराहामा पनि कोरोना भाइरस संक्रमणको असर परेको बताए । ‘धेरैजसोले बुकिङ रद्द गरेका छन्,’ अध्यक्ष भन्छन्, ‘चिनियाँ मात्र नभएर, भारतलगायतका अन्य मुलुकका पर्यटक पनि घटेको अबस्था छ ।’
उनका अनुसार जनवरीदेखि अप्रिल महिनासम्म धेरै चिनियाँ पर्यटकहरु सौराहा, मेघौलीलगायतका चितवनको पर्यटकीय क्षेत्र घुम्न आउँछन् । सौराहा आउने विदेशी पर्यटकमध्ये चिनियाँको संख्या सबैभन्दा धेरै रहने गरेको बताए। सौराहामा दैनिक ५ सयदेखि ७ सयसम्म चिनियाँ पर्यटकहरु घुम्न आउने गरेको व्यवसायीहरु बताउँछन् ।

३१ डिसेम्वरमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि चिनियाँ पर्यटकको संख्यामा कमि आएको व्यवसायीहरुको भनाइ छ । तर आन्तरिक पर्यटकहरुको संख्या सौराहामा राम्रै छ । विभिन्न संघसंस्था र निकायहरुले सौराहामा गर्ने कार्यक्रमहरुले व्यवसाय धानिएको उनीहरुको भनाइ छ । विगतका वर्षहरुमा चितवन आउने कूल पर्यटकहरुमध्ये चिनियाँ पर्यटकहरुको संख्या ३० प्रतिशतभन्दा माथि रहेको थियो।





प्रतिकृया