• २० भदौ २०८३, शनिबार
  • ३ः४७ राती

चीनमा देखिएको नयाँ भाइरस के हो ? लक्षण र जोगिन उपाय

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार १०:१२

एजेन्सी, चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन् । उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन् । चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ ।

National Life

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ‘सबैभन्दा महत्त्वपूर्ण चरण’मा रहेको स्वीकार गरेका छन् ।अधिकारीहरूले मान्छेबाट मान्छेमा त्यो भाइरस सरेको पुष्टि मङ्गलवार गरेका थिए । वैज्ञानिकहरूले चीनमा एक प्रकारको नयाँ भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या आधिकारिक सङ्ख्याभन्दा बढी हुन सक्ने बीबीसीलाई बताएका छन् ।

चिनियाँ आधिकारिक विवरण अनुसार अहिलेसम्म ४५ जना सो भाइरसबाट सङ्क्रमित भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ । तर यूकेका विज्ञहरूका अनुसार त्यो सङ्ख्या १,७०० को नजिक हुन सक्छ । गत डिसेम्बर महिनामा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरसबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

Classic Tech Desktop

के हो कोरोनाभाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो । कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै अन्य प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि तिनले मानिसहरूलाई सङ्क्रमित बनाएका छैनन् ।

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

१) ज्वरो आउनु र खोकी लाग्नु

२) छिटोछिटो सास फेर्नु

३) श्वासप्रश्वासमा कठिनाइ हुनु

४) गम्भीर भएमा निमोनिया हुनु

५) सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

६) मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छ

१) नियमित रूपमा हात सफा गर्ने

२) खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

३) मासु र अण्डा राम्रोसँग पकाएर खाने

४) कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

अमेरिकामा पनि भेटियो

श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ। द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो।

चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु भएको हो। अहिलेसम्म नौजनाको ज्यान गइसकेको छ। एकजना पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ। सीडीसीका अनुसार उक्त भाइरसबाट सङ्क्रमित अमेरिकी पुरुष गत ज्यानुअरी १५ तारिखमा वुहानबाट फर्केका थिए।

“ती बिरामी वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका थिए,” विज्ञप्तिमा भनिएको छ, “उनले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको थियो।” त्यो भाइरसको सङ्क्रमण रहेको पुष्टि ज्यानुअरी २० तारिखमा भएको थियो। गत हप्ता वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई पनि भाइरसको सङ्क्रमण रहेको शङ्का गर्दै चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको थियो ।

प्रतिकृया