घूस लिएको आरोपमा १३ वर्ष जेल
प्रकाशित मिति
२०७६ माघ ८ गते, बुधबार ०७:३१
घूस लिएको आरोपमा चीनले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल का पूर्वप्रमुख मेङ हङवेईलाई १३ वर्ष ६ महिना जेल सजाय तोकेको छ। २० लाख डलर घूस लिएको अभियोगमा उनलाई जेल सजाय तोकिएको छ।
उत्तरी चीनको तियानजिन सहरस्थित नम्बर वान इन्टरमेडियरी कोर्टले मंगलबार एक विज्ञप्ति जारी गर्दै मेङले फैसला स्वीकार गरेको र पुनरावेदन नगर्ने जनाएको छ । उनलाई जेल सजायबाहेक २० लाख युयान जरिवाना पनि गराइएको छ।
६६ वर्षीय मेङले सार्वजनिक सुरक्षा उपमन्त्री र सामुद्रिक प्रहरी प्रमुखसहित विभिन्न सरकारी ओहदामा रहँदा पदको दुरुपयोग गर्दै २१ लाख डलर घूस लिएको अदालतसमक्ष स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ।
मेङलाई सबै पद र चिनियाँ कम्युनिस्ट पार्टीबाट यसअघि नै मुक्त गरिएको थियो । चीनमा यस प्रकृतिका अपराधमा कडा सजाय हुने गरेको भए पनि अनुसन्धानमा मेङले गरेको सहयोग र गल्ती स्विकारेका कारण उनलाई कम सजाय भएको अदालतले जनाएको छ।
सन् २०१६ मा इन्टरपोलका अध्यक्ष निर्वाचित मेङ सन् २०१८ को अन्त्यतिर फ्रान्सबाट चीन जाँदा हराएसँगै उनको चार वर्षीय कार्यकाल छोट्याइएको थियो।
मेङ कहाँ गए भन्नेबारे इन्टरपोललाई जानकारी गराइएको थिएन । अध्यक्ष बेपत्ता भएपछि औपचारिक रूपमै मेङबारे चीनसमक्ष जानकारी माग गर्न इन्टरपोल बाध्य भएको थियो । पछि, मेङले पदबाट राजीनामा दिएका थिए।
त्यसको एक महिनापछि चिनियाँ अधिकारीले उनलाई पक्राउ गरिएको र घूस लिएको आरोपमा छानबिन भइरहेको पुष्टि गरेका थिए। : कान्तिपुर दैनिक






प्रतिकृया