वैदेशिक रोजगारी सम्बन्धी पूर्व श्रम मन्त्रीहरुसंग छलफल
प्रकाशित मिति
२०७६ पुष २४ गते, बिहीबार ११:१२
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आन्तरिक तथा वैदेशिक रोजगारीका लागि आगामी दिनमा चाल्ने कदमहरुका सम्बन्धमा पूर्व श्रम मन्त्रीहरुसंग छलफल गर्नुभएको छ ।
मन्त्रालयले २०४६ सालपछि श्रम मन्त्रीको जिम्मेवारी सम्हालेका करीव डेढ दर्जन पूर्व श्रम मन्त्रीहरुलाई निमन्त्रणा दिएपनि बुधबारको छलफलमा पूर्व श्रम मन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी लगायत श्रम मन्त्रालयको नेतृत्व नसम्हाले पनि पूर्व मन्त्री रामचन्द्र झा सहभागी हुनुभएको थियो ।
छलफलमा मन्त्री यादवले आफु मन्त्रालयको जिम्मेबारीमा आएपछि डेढ महिनाको अवधिमा गरेका कामहरु र मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका ३ महिने कार्यक्रमका बारेमा जानकारी दिदै आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका बारेमा आफ्ना अनुभव राखीदिन पुर्व मन्त्रीलाई आग्रह गर्नु भएको थियो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सार्थक बनाउन बेरोजगारीको अन्त्य गर्नु आवश्यक भएकाले त्यस विषयमा केन्द्रित भएको समेत पूर्व मन्त्रीहरुलाई जानकारी दिइएको थियो ।
छलफलमा सहभागी पूर्व मन्त्री कमल चौलागाईले आन्तरिक रोजगारीलाई बढवा दिँदै वैदेशिक रोजगारीलाई क्रमशः न्यून गर्दै लैजाने, आन्तरिक तथा वैदेशिक रोजगारी दुबै क्षेत्रलाई प्रविधिको माध्यमबाट पारदर्शी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।
पूर्व मन्त्री न्यौपानेले मन्त्रालयले नयाँ योजना वा कार्यक्रम कार्यान्वयनमा ल्याउनु भन्दा पहिले सरोकारवालाहरु र यस क्षेत्रका विज्ञहरुसँग सुझाव लिनुपर्नेमा केही पूर्व मन्त्रीहरुले एकपक्षीय रुपमा निर्णयहरु गर्दै आएका कारण समस्या उत्पन्न भएको बताउनुभयो ।






प्रतिकृया