• २६ भदौ २०८३, शुक्रबार
  • ७ः१७ बेलुका

पूर्व प्रहरी कर्मचारीहरुको हकहितका लागि प्रहरी संगठन तत्पर रहेको छ :महानिरीक्षक खनाल

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार ०१:५३

काठमाडौं, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्व प्रहरीहरुले आफ्नो ज्ञान, सिप, कलाकौशललाई प्रयोग गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह गर्नु भएको छ । धापासीस्थित कार्यालयमा शनिबार आयोजित नेपाल पूर्व प्रहरी संगठनको २८औं वार्षिक साधारणसभाको उद्‍घाटन समारोहमा प्रहरी महानिरीक्षक खनालले पूर्व प्रहरी कर्मचारीहरुको हकहितका लागि प्रहरी संगठन तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले पूर्व प्रहरी संगठनको विकासका लागि आवश्यक योजना सहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

National Life

प्रहरी महानिरीक्षक खनालले हाल प्रहरी कल्याण कोषबाट निवृत्त प्रहरी एवं आश्रीत परिवार र अमर प्रहरी परिवारको कल्याणमा वार्षिक कल्याणकारी कार्यक्रमको कुल ७३ प्रतिशत खर्चको योगदान पुर्‍याइरहेको जानकारी दिनुभयो । यसैगरी कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका १ जना सन्ततीलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको तथा नागरिकको सुरक्षा एवं कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त प्रहरीका सन्ततीहरुमध्ये १ जना छोरीको शुभ विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै आर्थिक वर्ष २०७६/७७ देखि प्रहरी कल्याण कोषबाट ३० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्तराज कुँवरले प्रहरी संगठनसँग पूर्व प्रहरी संगठनले राखेका अपेक्षाबारे उल्लेख गर्दै संगठनका आगामी योजना तथा कार्यक्रमबारे चर्चा गर्नुभयो । नेपाल प्रहरीले जनहितका लागि ल्याएको समुदाय(प्रहरी साझेदारी कार्यक्रममा पूर्व प्रहरी संगठनको सदैव साथ र सहयोग रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । हाल प्रहरी संगठनले सरकारसंग समन्वय गर्दै प्रहरीका भौतिक संरचना निर्माणको क्षेत्रमा अतुलनीय कार्य सम्पादन गरेको समेत उहाँले चर्चा गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त संगठनका बरिष्ठ उपाध्यक्ष रुप सागर मोक्तानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषदका अध्यक्ष माधव घिमिरे र संगठनको विद्धत परिषदका संयोजक नवराज ढकालले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संगठनका बरिष्ठ उपाध्यक्ष बिनोद सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री, बरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, पूर्व प्रहरी संगठनका पदाधिकारी तथा सदस्य, अमर अशक्त प्रहरी परिवारका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया