उपचुनावमा सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुन्छ, सूर्य अस्ताएपछि बन्द हुन्छः सांसद बस्नेत
प्रकाशित मिति
२०७६ कार्तिक २८ गते, बिहीबार १२:२९
भक्तपुर, प्रतिनिधिसभा सदस्य, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिनुभएको छ । अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ (क) का नेकपाको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा उहाँले सो निर्देशन दिनुभएको हो ।
सांसद बस्नेतले भन्नुभयो, “आगामी मङ्सिर १४ गतेको उपनिर्वाचनसम्म युवा गाउँगाउँमा परिचालन हुनुस्, गाउँमा मतदातालाई पैसा बाँडेर वा उपहार दिएर भोट किन्न कोही आउँछन् भने त्यो पैसा कब्जा गर्नुस्, कब्जा गरिएका पैसा त्यही ठाउँको विकासमा लगाउँला, कसैले कानून हातमा लियो भन्छ भने जे पर्छ हामी व्यहोर्छौं ।” विगतको निर्वाचनका समयमा केही राजनीतिक दलले पैसामा जनतालाई किन्ने प्रयास गरेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन सकिन्छ कि भन्ने दिवासपना नदेख्न विपक्षीलाई आग्रह गर्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्ने जमना अब सकियो, अबको चुनावमा सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुन्छ, सूर्य अस्ताएपछि बन्द हुन्छ । तर केही राजनीतिक दलको अभियान सूर्य अस्ताएपछि शुरु हुन्छ, सूर्य अस्ताएपछि अँध्यारोमा शुरु हुने अभियानलाई निस्तेज पार्नैपर्छ ।”





प्रतिकृया