• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

लागू औषधको दुर्व्यसनबाट बचौँ र बचाऔँ

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०९:४२

पुजन खड्का

मानिसमा लत सिर्जना गरि दुर्व्यसनी तुल्याउने बस्तु वा पदार्थ लागू पदार्थ हो जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पुर्याउँछ। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागू पदार्थ भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार लागू पदार्थ भन्नाले कुनै पनि किसिमको रासायनिक वस्तु, पदार्थ जुन स्वास्थ्य शरीरका लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक मानसिक कार्य तथा बनावटमा परिवर्तन ल्याउन सक्छ।

Kamana Sewa

चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी प्रयोग गर्ने कार्य वा प्रबृतीलाई लागू पदार्थको दुर्व्यसन भनी बुझ्दछौ । कुनै व्यक्तिलाई सधै भरी लागू औषधको सेवन गरि रहनु पर्ने अबस्थाको श्रृजना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारिरिक अबस्थामा परिबर्तन आउने कार्य नै दुर्व्यसन हो ।विश्वव्यापी साझा समस्याको रुपमा रही आएको लागू औषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा परेको छ। लागू औषधको ओसारपसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै विश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला। हाम्रा असंख्य युवा तथा श्रृजनशील जमात लागू पदार्थको कुलतमा डुबेका छन्।

Classic Tech Desktop

नेपालमा मदिरा, सुर्तिजन्य पदार्थ एवं गाँजा चरेसको प्रयोग पनि दिनानुदिन बढ्दै गएको छ। हेरोइन तथा अफिम जस्ता लागू पदार्थको प्रयोगले यो समस्यालाई अझ बढाएको छ। हालका दिनहरुमा सुईको माध्यमबाट लागू पदार्थको प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ। यसमा लागू औषधयुक्त सुई, औषधि तथा सिन्थेसाइज्ड केमिकलहरु समेत लागू औषधको रुपमा प्रयोग हुनुले समस्या अझै बढ्ने क्रम जारी छ। केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षण २०६३ र २०६९ को आधारमा नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागू औषध दूर्व्यसनीहरुको वृद्धि हुने गरेको देखिन्छ, जसअनुसार हाल करिव १ लाख ५६ हजार भन्दा बढि दुर्व्यसनी रहेका छन् जुन कुल जनसंख्याको ०.५ प्रतिशत हो।

ती मध्य ५७ प्रतिशत दूर्व्यसनीहरुले सुईको माध्यमबाट र ४७ प्रतिशतले अन्य माध्यमबाट ‍औषधीजन्य लागू पदार्थहरु प्रयोग गरिरहेको पाइएको छ। यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुका अनुसार यो संख्या २ लाख भन्दा बढी रहेको छ। कडा लागू पदार्थको सेवन गर्नेको संख्या मात्र १ लाख ३० हजारको हाराहारीमा रहेका छन् जसमा ७ प्रतिशत महिला रहेका छन्। गाँजा, रक्सी जस्ता बस्तुलाई कडा लागू पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन। नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमश सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागू औषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ।

लागू पदार्थको सेवनले व्यक्तिको जीवन बर्बाद पार्दछ र समाजलाई प्रदुषित बनाउँछ। लागू पदार्थको कुलतमा फस्ने व्यक्तिहरुका कारण समाजमा विभिन्न प्रकारका विकृती तथा अपराधको संख्यामा समेत वृद्धि हुँदै जान्छ। नेपालको सन्दर्भमा निम्न कारणहरुले गर्दा दुर्व्यसनको संख्यामा वृद्धि भएको पाइन्छ।

१) पारिवारीक वातावरण

२) पारिवारीक तनाव

३) बेरोजगारी

४) उत्सुकता

५) साथीहरुको सङ्गत

६) देखासिकी

७) अभिभावकको सुपरिवेक्षणमा कमी

८) अज्ञानता

९) अबैध लागू ‌औषधको व्यापार

शरीर दुब्लाउदै जानु, स्मरण शक्ति कमजोर हुनु, अनावश्यक झगडा गर्नु, चाहिनेभन्दा बढि पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य सामान हराउँदै जानु, पाचन प्रक्रियामा समस्या आउनु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय परिवर्तन हुनु, आँखा रातो हुनु, ‌ओठ कालो हुँदै जानु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागू औषध प्रयोगकर्तामा देखिन्छन्।

लागू पदार्थको अवैध ओसारपसार एवं कारोबारलाई हातहतियार तस्करी पछिको दोस्रो ठूलो अपराधको रुपमा लिइन्छ। यसको अवैध ओसारपसार नियन्त्रण गर्न कानून कार्यान्वयन निकायहरु क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको संजालले गर्दा यसको ओसारपसार र नियन्त्रण गर्ने कार्य चुनौतीको रुपमा देखिएको छ। नेपाल लागू पदार्थ उत्पादन र ओसारपसार गर्ने ट्रयाङ्गल र गोल्डेन क्रिसेन्टको नजिक पर्ने हुँदा यहाँको भूमिलाई लागू पदार्थ ओसारपसार गर्ने सहज बाटोको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ।

लागू औषध प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिइ उनीहरुलाई आवश्यक उपचार सेवा प्रदान गरी समाजमा पुनः स्थापना गराउने सरकारी नीति छ। यसको लागि लागू औषध प्रयोगकर्तालाई दुर्व्यसनीको रुपमा हेर्ने विद्यमान सामाजिक सोच र प्रवृत्तिमा आमूल परिवर्तन आवश्यक छ। लागू औषध प्रयोगकर्तामाथि मानवीय व्यवहार र उनीहरुको मानव अधिकारको सम्मान पनि त्यतिकै आवश्यक छ। यसको साथै उनीहरुको उपचारलाई सार्वजनिक सरोकारको रुपमा लिनुपर्ने खाँचो पनि उत्तिकै देखिएको छ। गुणस्तरीय र भरपर्दो उपचार तथा पुनः स्थापना सेवामा लागू औषध प्रयोगकर्ताहरुको पहुँच बढाउन पनि उत्तिकै जरुरी छ। यसको लागि लागूऔषध प्रयोगकर्तालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न छुट्टै संयन्त्र र सञ्चालन सेवाको खाँचो बढ्दै गएको छ।

लागू औषध दुर्व्यसन रहित स्वस्थ र समुन्नत समाजको प्राप्तीको लागि लागू औषध नियन्त्रण राष्ट्रिय नीति २०६३ लागू भएको छ। लागू पदार्थको अवैध ओसारपसार कारोवार एवं आपूर्तिमा कडाईका साथ नियन्त्रण गरि यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमुखी कार्यक्रमहरु सञ्चालन गर्नु पनि उत्तिकै जरुरी छ। यसैगरी लागू पदार्थको अवैध खेती एवं ओसारपसारलारई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सो सँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी तुल्याउनु आवश्यक देखिन्छ। लागू औषधको प्रयोगबाट जोखिममा परेका समुहहरुको पहिचान गरी त्यस्ता समूह लक्षित समुदायमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गरी लागू पदार्थको माग घटाउ अभियानलाई थप प्रभावकारी बनाउनु जरुरी छ।

साथै लागू औषध प्रयोगकर्ताको क्षति न्यूनीकरणको लागि पनि समुदायमा आधारित विभिन्न गैर सरकारी संस्थाहरुसँग मिलेर कार्यक्रमहरु सञ्चालन गर्नु समेत उत्तिकै आवश्यक छ। खास गरी लागूऔषधको जोखिममा परेका महिला तथा युवाहरुलाई लक्षित गरी उपचार तथा पुनः स्थापनाका सघन कार्यक्रमहरु गर्न सकिएमा पनि लागू औषधको माग घटाउ अभियानमा उल्लेख्य सहयोग पुग्ने देखिन्छ। खासगरी लागू औषधको प्रयोग रोकथाम तथा नियन्त्रणको विषय सर्व सम्बन्धित विषय हो। राज्यको एक्लो प्रयासबाट मात्रै यसको उचित व्यवस्थापन गर्न कठिन हुन्छ। यसका लागि सरकारी तथा गैरसरकारी पक्ष, नागरिक समाज, निजि क्षेत्र, विज्ञ एवं प्रयोगकर्ता तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुको संयुक्त सहकार्यको पनि त्यत्तिकै खाँचो पर्छ।

प्रतिकृया