एटीएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने पाँच चिनियाँ नागरिक पक्राउ
प्रकाशित मिति
२०७६ भाद्र १५ गते, आईतवार ०१:३३
काठमाडौं, नेपाली एटीएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पाँचै जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मलेन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले शनिबार मध्यराति नबिल बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनले भने, ‘एटिएमबाट पैसा निकालिरहेका एक जनालाई सुरुमा पक्राउ गरेका हौं ।

उसको बयानका आधारमा थप चारजना चिनियाँलाई दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गर्न सफल भयौं । उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

साथै उनीहरुको साथबाट नक्कली भिषा कार्ड १३२ थान, सक्कली भिषा कार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोवाइल ६ थान, ल्यापटप १ थान, सामसुङ १ थान र डाटा कार्ड १ थान समेत बरामत भएको छ ।
उनीहरु शनिबार मध्यरातमा दरबारमार्गस्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका थिए ।
उनीहरुले विदेशमा योजना बनाएर बिदाको दिन पारेर चोरी कार्य गर्ने गरेको समेत खुलेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।




प्रतिकृया