धनगढीमा गौरा महोत्सव आजदेखि सुरु
प्रकाशित मिति
२०७६ भाद्र ७ गते, शनिबार ११:५८
धनगढी, धनगढीमा यो बर्षको गौरा महोत्सव आजदेखि सुरु हुने भएको छ। सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यका साथ गौरा महोत्सवको चौथो संस्करण आजदेखि आयोजना हुन लागेको हो।
विगतमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले महोत्सव आयोजना गर्दै आएकोमा यो बर्ष हाम्रो संस्कृती हाम्रो पहिचान धनगढीको आयोेजनामा गौरा महोत्सव हुने भएको छ ।
भदौ ७, ८ र ९ गते तीन दिनसम्म सञ्चालन हुने गौरा महोत्सवमा विभिन्न कार्यक्रमहरु गरिने महोत्सव मुल आयोजक समितिका संयोजक सुरत रावत डोटेली कान्छाले जानकारी दिनुभयो । प्रादेशिक डेउडा प्रतियोगिता, नौँ वटै जिल्लाका सास्कृतीक झाँकी प्रदर्शनी, लोक संस्कृती सम्वन्धी कार्यपत्र प्रस्तुत, लोक बाजाहरुको प्रदर्शनी, लोक नृत्य तथा गायन, बाल प्रतिभा प्रबद्र्धन र लोक संस्कृतीका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेका अग्रज सात जना श्रष्टाहरुलाई सम्मानको समेत कार्यक्रम महोत्सव अवधीभर सञ्चालन हुने छ ।
यस बर्ष डेउडा प्रतियोगितामा नौँ वटै जिल्लाका टिमहरुको प्रतिनिधित्व गराउँदै प्रादेशिक बनाउने लक्ष्य आयोजकले राखेको छ। यसअघि पनि धनगढीमा तीन पटक गौरा महोत्सव सम्पन्न भईसकेको छ।
गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्ण को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी ९गौरा०को पूजाआजा गर्ने चलन छ ।






प्रतिकृया