जिम्मेवारी पूरा नगर्ने कर्मचारीको पाता कस्ने कानुन निर्माण हुने मन्त्री पण्डितको भनाई
प्रकाशित मिति
२०७६ श्रावण ३२ गते, शनिबार १०:३४
पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काममा आलटाल गर्ने कर्मचारीलाई पाता कस्ने कानुन निर्माण हुन लागेको बताउनु भयो । प्रेस संगठन नेपालले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने र कामचोर कर्मचारीका लागि पाता कस्नेगरी कानुन निर्माण हुन लागेको बताउनु भयो । मन्त्री पण्डितले स्थायी कर्मचारी हुँ भनेर स्थानीय तहमा दादागिरी देखाउने कर्मचारीलाई पाता कस्नेगरी कानुन निर्माण गरिने बताउनु भयो । मन्त्री पण्डितले राज्यले दिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीले दिएको राजीनामासमेत स्वीकृत गर्ने चेतावनीसमेत दिनुभयो ।
उहाले सामूहिक राजीनामा आएमा राजीनामा उपर एकपटक विचार गर्ने अवसर कर्मचारीलाई दिनेसमेत बताउनु भयो । पुनर्विचारमा समेत कर्मचारीले राजीनामा फिर्ता नलिएमा सामूहिक राजीनामा स्वीकृत गर्ने बताउनु भयो । मन्त्री पण्डितले समायोजनको सबै काम सकिन लागेको तर पदस्थापना भने बाँकी रहेको समेत बताउनु भयो । समायोजनसँगै पदस्थापना गर्दा कतिपय स्थानीय तह रित्तै हुने भएका कारण पनि समायोजनपछि मात्रै पदस्थापन गर्न लागिएको मन्त्रीको भनाइ छ ।





प्रतिकृया