सीटीईभीटीले परीक्षामा बञ्चित गर्दा ३० नर्सिङ्ग विद्यार्थीको भविश्य अन्यौलमा परेको कलेज संचालक,बिद्यार्थी र अभिभावकको आरोप
प्रकाशित मिति
२०७६ श्रावण २९ गते, बुधबार ०९:२३
भक्तपुर । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभिटी)ले परीक्षामा सहभागि नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ्ग कलेजमा अध्ययनरत ३० जना नर्सिङ्ग विद्यार्थीको भविश्य अन्यौलमा परेको छ । एकेडेमीमा अध्ययन गर्ने ३० जना विद्यार्थीहरु अध्ययन गरेर परिक्षा दिन नपाएको आज कलेजले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
तीन वर्षे प्रमाणपत्र तहको नर्सिङ्ग अध्ययनरत विद्यार्थीलाई सीटीईभिटीले गत २६ गतेदेखि संचालन गरेको प्रथम वर्षको परीक्षामा सहभागि नगराउँदा उनीहरुको भविश्य अन्यौलमा परेको हो । कलेजले योजना गरेको पत्रकार सम्मेलनमा कलेज संचालन समितिका अध्यक्ष निलकृष्ण ताम्राकारले उच्च अदालतको आदेशलाई समेत लत्याएर सीटीईभिटीले विद्यार्थीलाई परीक्षामा सहभागि हुन नदिदाँ उनीहरुको भविश्य अन्यौलमा परेको बताउनुभयो । निरन्तर उच्च अदालतले दिएको आदेशलाई समेत लत्याउँदै सिटीइभिटीले विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको कलेजले जनाएको छ ।
कलेजले सय बेड भएको गणेशमान अस्पताल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेर सिटीईभिटीमा पेश गरेको र भक्तपुर अस्पतालसँगको सम्झौता पनि २०८० सालसम्म कायमै रहेको अध्यक्ष ताम्राकारले बताउनुभयो । सीटीईभीटीले कलेजको सम्बन्धनै रद्ध गर्ने कोशिस गरेको उहाँको आरोप थियो ।आफूहरुसँग कलेज संचालनका लागि सम्पुर्ण प्रमाण रहेको कलेजको भनाई छ ।

विद्यार्थी भर्नाको सिलसिलामा २०७५ सालको विद्यार्थी भर्नाका लागि कलेजले सीटीइभीटीईमा निरन्तर सम्पर्क गरेको तर त्यसबेलादेखि नै बेवास्ता गर्दै आएको कलेजका संचालक समिति अध्यक्ष ताम्राकार बताउनुभयो ।
परिषदले गतवर्ष लिएको प्रवेश परीक्षामा उतीर्ण भएका विद्यार्थीहरुलाई भर्ना लिई कलेजले पठनपाठन सुरु गरि गत चैत १४ गते सीटीईभीटीलाई आवश्यक शुल्क बुझाए पनि विद्यार्थीको रजिष्ट्रसन समेत नगरेको उहाँको भनाई छ । सीटीईभिटीले सूचना प्रकाशित गरेपछि संस्था नविकरणका लागि २०७६ असार १० गते नियमानुसार शुल्क जम्मा गरेको, वार्षिक परीक्षाको मिति सार्वजनिक भईसक्दा पनि विद्यार्थीको रजिस्ट्रेशन नगरेपछि बाध्य भएर कलेज न्यायका लायिग उच्च अदालत पाटन गएको ताम्राकारले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयोर्,उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेसन गराई परीक्षामा सहभागि गराउन आदेश दिएपनि सीटीईभीटीले अदालतको आदेशको अबज्ञा गरी कानूनको समेत मान मर्दन गरेको छ ।’
अदालतले पुनः साउन २० गते साउन २ गतेको आदेशलाई तीन दिन भित्र कार्यान्वयन गर्नु भन्ने अर्को आदेश जारी गर्दा पनि सीटीईभीटीले अटेर गरि साउन २६ गतेदेखि सुरु भएको परीक्षामा सहभागि नगराई विद्यार्थीको भविश्य माथि खेलबाड गरेको अध्यक्ष ताम्राकारको भनाई छ ।
नर्सिङ्ग परिषद्ले उक्त कलेजको अनुगमन गरि सबै पूर्वाधार ठिक छ भनेर प्रमाणित गर्दा पनि सीटीईभिटीले उक्त कलेज खारेजको निर्णय गरेको तर न्यायका लागि जादा उच्च अदालत पाटनले कलेज खारेज नगर्न र विद्यार्थी भर्ना गराउन गतवर्ष आदेश जारी गरेपछि कलेजले कानून सम्बत रुपमा विद्यार्थी भर्ना गराई नियमित पठन पाठन गराएको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताउनुभयो ।
उहाँले कानूनको सम्मान गर्दै विद्यार्थीलाई परीक्षामा सहभागि गराई उनीहरुको भविश्य जोगाउन माग गर्नुभएको छ । विद्यार्थी र अभिभावहरुले पनि परीक्षामा सहभागि नगराए सीटीईभिटी विरुद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । सीटीइभीटी र चक्रवर्ती विवाद अनि उच्च अदालतको फैसला सीटीइभीटीले नमान्दा ३० बिद्यार्थीले परिक्षामा संग्लन हुन नपाएका हुन् ।
अदालतको निरन्तरको आदेश समेत लत्याउँदै सीटीइभीटीले बेवास्ता गर्दै आएको र विद्यार्थीको भविष्य अन्योलमा परेको कलेजको दाबी छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट २०५९ सालमा सम्बन्धन प्राप्त उक्त एकेडेमीमा २०६१ सालदेखि नर्सिङमा प्रविणता प्रमाणपत्र तहमा पढाई हुँदै आइरहेको छ ।






प्रतिकृया