राजस्व संकलनमा उत्साहजनक वृद्धि
प्रकाशित मिति
२०७६ श्रावण १६ गते, बिहीबार ०९:०८
उदयपुर । करदाता सेवा कार्यालय गाईघाटले उदयपुरमा आर्थिक वर्ष २०७५÷७६ मा राजस्व संकलनमा उत्साहजनक वृद्धि गरेको छ । कार्यालयले लक्ष्यभन्दा ३० प्रतिशत बढी राजस्व संकलन गरेको छ । आव २०७५÷७६ मा ४३ करोड ९० लाख १३ हजार ३७२ रुपैयाँ ६५ पैसा राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा ३० करोेड ६५ लाख १७ हजार २४५ रुपैयाँ ९७ पैसा संकलन भएको थियो । दुई वर्षबीचको राजस्व संकलन तुलना गर्दा अघिल्लो वर्ष भन्दा २०७५÷७६ मा उत्साहजनक वृद्धि भएको अधिकृत सुमन बुढाथोकीले जानकारी दिए । गाईघाटस्थित आन्तरिक राजस्वको करदाता सेवा कार्यालयका अनुसार २०७४÷७५ भन्दा राजस्व संकलन ३० प्रतिशत बढी संकलन भएको छ । यो परिमाण गत वर्षभन्दा १३ करोड २५ लाख हाराहारी बढी हो ।

कर कार्यालयका अनुसार यो अंकको संकलित राजस्वमा मूल्य अभिवृद्धि कर (भ्याट), स्थायी लेखा नम्बर (प्यान), अन्तःशुल्क, बहाल कर, ब्याज कर, स्वास्थ्य सेवा शुल्क र शिक्षा सेवा शुल्कसमेत समावेश गरिएको छ । आयकर सबैभन्दा बढी २१ करोड १८ लाख ९० हजार ८२२ रुपैयाँ ३४ पैसा संकलन भएको छ । दोस्रो ठूलो अंक भ्याटबापत १७ करोड ८२ लाख १७ हजार ६५७ रुपैयाँ संकलन भएको छ भने ३ करोड ५ लाख ९६ हजार ४६१ रुपैयाँ अन्तः शुल्कबापत संकलन भएको कर अधिकृत बुढाथोकीले बताएका छन् ।





प्रतिकृया