आफन्तबाटै ४ वर्षमा ६८४ मारिए
प्रकाशित मिति
२०७६ असार १८ गते, बुधबार ०९:३३
आर्थिक वर्ष २०७२ र ७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । यो अवधिमा श्रीमानबाट श्रीमतीदेखि आमाबाबुबाट छोराछोरीसम्मको हत्या गरेका छन् ।
तथ्यांकअनुसार पछिल्ला चार वर्षमा २७५ जनाले श्रीमतीको हत्या गरेका छन् । त्यस्तै, ५८ श्रीमतीले श्रीमान्को ज्यान लिएका छन् । १५ जना बाबुआमाले आफैंले जन्माएको सन्तानको हत्या गरेका छन् ।
छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाउँछ ।
यसैगरी, सौतेनी आमा र बाबुले विगत चार वर्षमा चार जना सन्तानको हत्या गरेको, आफन्तले तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २२ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको छ ।
यस्तै, विगत चार वर्षमा मामाबाट चार जना भान्जाभान्जीको, भान्जाले तीन जना मामाको, काकाकाकीले ६ जना भतिजाभतिजीको, दाजुले २५ जना भाइबहिनीको, भाइबाट पाँच जना दाजु, दिदी र बहिनीको तथा बहिनीबाट एक जना दाजुको हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले कुनै एउटा कारण नभई विभिन्न कारणले आफन्तबाटै आफन्तको हत्या हुने गरेको पाइएको बताए ।
राजधानी दैनिकबाट साभार






प्रतिकृया