कांग्रेस एकता समायोजन समिति बैठक सम्पन्न
प्रकाशित मिति
२०७६ असार १४ गते, शनिबार ०८:४४
काठमाडौंः नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीचको सांगठनिक संरचना समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समितिको बैठक सम्पन्न भएको छ । हिजो शुक्रबार बिहान केन्द्रीय कार्यालय सानेपामा पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा ०७५ मंसिर २८–पौष ८ सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट सहभागी भएका २०० जना महासमिति सदस्यहरुको नामावली विवरण सम्बन्धित सदस्यको जिल्लामा पठाई अभिलेख अद्यावधि गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई निर्देश गर्ने र नेपाल लोकतान्त्रिक फोरमका २५४६८ जना क्रियाशील सदस्यको नामावलीको सूची सम्बन्धित जिल्लामा पठाई देहाय बमोजिमको समितिबाट दुई हप्ताभित्र छानविन गरी निर्णय सहित केन्द्रमा पठाउन निर्देश गर्ने विषयमा निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट प्रस्तुत भएका समायोजन सम्बन्धी बाँकी प्रस्ताव उपरको छलफल जारी राख्ने तथा नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको समायोजन सम्बन्धमा हालसम्म भएका कार्य प्रगतिको प्रतिवेदन यही आषाढ २२ देखि हुने पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णयसमेत बैठकमा भएको जनाइएको छ ।




प्रतिकृया