अग्नि नियन्त्रक यन्त्र सबै वडामा, २ सय खरका छाना हटाउने तयारी
प्रकाशित मिति
२०७६ असार ३ गते, मंगलवार ०७:४२
भरतपुर । भरतपुर महानगरपालिकाका २९ वटै वडा तहबाट विपद्को जोखिम क्षेत्र पहिचान गर्ने काम सकिएको छ । तीन महिनापछि योजनाको मस्यौदा तयार हुने क्रममा रहेको छ । जेठ ७ देखि १५ गतेसम्म संकटासन्नता क्षमता लेखाजोखा गर्न स्वयंसेवक परिचालन भएका थिए । सर्वेक्षणलाई आधार बनाएर उत्थानशील योजना बनाइने भएको छ । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, उद्धार, राहत, पुनर्निर्माण लगायतका काम समेटर योजना बनाउने तयारी भइरहेको भरतपुर महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख झलककुमार श्रेष्ठले बताउनु भयो ।
उहाले नगरसभाबाट योजना पारित भएपछि साउनदेखि नै कार्यान्वयनमा आउने बताउनु भयो । भरतपुर महानगरमा विपद् व्यवस्थापनका लागि हाल २ दमकल चालू अवस्थामा छन् । महानगरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन गत नगरसभाबाट पारित गरिसकेको छ । दमकल सञ्चालन कार्य्विधि, विपद् कोष सञ्चालन कार्य्विधिको मस्यौदा निर्माणको चरणमा छन् ।।
अग्नि नियन्त्रक यन्त्र सबै वडामा
महानगरले २९ वटै वडामा अग्नि नियन्त्रक यन्त्र जडान गर्ने भएको छ । आगामी वर्ष सबै वडा कार्यालयमा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सटिङ्गुइसर) राखिने शाखा प्रमुख श्रेष्ठले बताउनु भयो । हाल ३ थान महानगर कार्यालयमा मात्रै थिए । उनले सबै घरमा यस्ता यन्त्र जडान गर्न प्रोत्साहन गरिने बताउनु भयो । विद्युतीय उपकरणको बढ्दो प्रयोगले आगलागीका घटना बढ्न सक्ने भन्दै महानगरले सर्तकता बढाएको बताउनु भयो ।
२ सय खरका छाना हटदै
भरतपुर महानगरले यही असारभित्र २ सय खरका छाना हटाउने तयारी गरेको छ । खरका छाना हटाएर जस्तापाता लगाउने काम पनि गरीरहेको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गतको बजेटबाट खरमुक्त छाना बनाउन लागेको हो । २० देखि २९ नम्बर वडाका खरका छाना हटाइने विपद् व्यवस्थापन शाखाका श्रेष्ठले बताउनु भयो ।





प्रतिकृया