• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

सास फेर्दा फोक्सोमा धुलो कसरी पुग्छ र त्यसले के के असर गर्छ?

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १०:४६

हामीले सास फेर्दा हावामा रहेका ससाना कणहरु फोक्सोमा रहेको हावाको फोकाहरु एलबिआई मा पुग्छन्। ती कण फोक्सोमा पुगेपछि त्यहाँ हुने रक्त कोषिकामा बस्छन्। हानिकारक तत्व नभएका कणहरु त्यहीँ पच्छन् वा शरीरको प्रक्रियाले बाहिर निकाल्छ। त्यस्ता कणलाई बाहिर निकाल्ने एउटा प्रक्रिया हो खोकी। घाँटीदेखि फोक्सोसम्म रहेका कणहरु निकाल्ने क्रममा खोकी लाग्ने गर्छ। ठूला कणहरु खोक्दा वा खकारका माध्यामबाट निस्किन्छन्। तर, साना कण फोक्सोमा यस्तरी गडेका हुन्छन् कि हत्तपत्त निस्किँदैनन्। शरीरले भने बाहिर निकाल्ने प्रक्रिया जारी राख्छ, त्यसैले लामो समयसम्म खोकी लागिरहन्छ।

श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छौं। यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो। तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ।

Kamana Sewa

हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन्। ती हामीले सास फेर्दा सँगै शरीर भित्र जान्छन्। तीमध्य कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निस्कासन गर्छ। कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन्। रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छन्।

Classic Tech Desktop

खोकी हावाका माध्यमबाट शरीरभित्र पसेका अनावश्यक कणहरु निकाल्ने प्रक्रिया हो। तर सबै अवस्थामा यी कणहरु बाहिर निस्किँदैनन्। निस्कन नसक्ने कणलाई शरीरको प्रणालीले फुटाएर निकाल्ने, अन्यत्र सार्ने वा पचाउने काम गर्छ। तर, कतिपय यस्ता कण हुन्छन्, जो फुट्दैनन्, पच्दैनन् र अन्यत्र सर्दैनन् पनि। फोक्सोमै गडेर बस्छन्। ती कण बसेको ठाउँमा एकखालको संक्रमण हुन्छ। जुन अन्यत्र फैलिँदै दीर्घकालमा फोक्सो सम्बन्धी विभिन्न रोगमा परिणत हुन्छ। क्रोनरी आर्टरी डिजिज, स्ट्रोक, क्यान्सर आदि रोग यसैको कारण हो।

धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन्। दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बन्डाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छ। ढुंगा, बालुवा, सिमेन्टजस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकासमा फैलिएको धुलोको प्रमुख स्रोत हो। यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्व नहोला भन्न सकिन्न। यसको असर तुरुन्तै नदेखिन सक्छ। अबको चार–पाँच वर्षपछि देखिएला। भविष्यमा काठमाडौँबासीलाई फोक्सो सम्बन्धी विभिन्न रोगसँगै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रवल छ।

सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ। सिलिका श्वाप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्त कोषिकाले तान्छ। यसलाई पचाउन वा फुटाउनन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ। विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ। पछि खत बस्छ र फाइब्रोसिस हुन्छ। सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ।

वायु प्रदूषणकै कारण मुटु सम्बन्धी रोग लाग्न सक्छ। श्वासप्रश्वासको माध्यमबाट छिरेका हानीकारक कणहरु कार्डियो भास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ। ती त साना कणले पार्ने असर हुन्। ठूला कणले पनि विभिन्न समस्या ल्याउँछन्। काठमाडौँको धुवाँधुलोले नाक र घाँटी सम्बन्धी विभिन्न समस्या निम्त्याएका छन्। धुलोमा रहेका ठूला कण शरीरका यिनै अंगमा अड्किन्छन्। सामान्य हिसाबले बाहिर निस्किएनन् भने शरीरले आफ्नो प्रणालीको प्रयोग गरेर यी कणलाई बाहिर निकाल्छ। जसका कारण एलर्जिक राइनोसाइनोसाइटिस र फेनेन्जाटाइटिस बढिरहेको छ।

सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने गर्नुपर्छ। सुरक्षित मास्क यसकारण भनिएको हो कि, बजारमा उपलब्ध सबै मास्कले धुलोधुवाँका साना कणहरु रोक्नै सक्दैनन्।

बिरामी, बच्चा र बृद्धलाई प्रदूषणले बढी असर गर्छ। त्यसैले बिहान र बेलुकीपख सकेसम्म बाहिर निस्कन दिनु हुँदैन। हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन्। बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरु श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन्।

लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ। बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ। तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ। जसलाई हानिकारक हावा मानिन्छ।

अहिले प्रदूषणको स्थिति हानिकारक तहमा रहेकाले यसबाट जोगिन उपाय अपनाउनुपर्छ। औषधि–उपचारले शरीरमा पसेका हानिकारक तत्व निकाल्ने काम गर्छ। औषधिको सहायताले शरीरभित्र पसेका हानीकारक कण निकाल्दै जाने तर वायु मण्डलबाट कण भित्र पसिरहने हो भने त्यो उपचारको कुनै अर्थ रहँदैन।

प्रतिकृया