आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित
प्रकाशित मिति
२०७६ जेष्ठ १७ गते, शुक्रबार ११:२३
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् ।
‘दुई पार्टीबीच चुनावी गठबन्धन बन्दा केपी शर्मा ओलीले ३ वर्ष र प्रचण्डले २ वर्ष सरकारको नेतृत्व गर्ने कुरा मिडियामार्फत मैले पनि सुनेको हुँ’, शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘तर, दुई पार्टी एक भइसकेपछि र दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद हो ।’
आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रममार्फत गरेका थिए । यसलाई लिएर नेकपाभित्र क्रिया(प्रतिक्रिया चलिरहेको छ । यहीबीच अन्तरपार्टी मामलाबारे खासै नखुल्ने वैद्यले यसबारे टिप्पणी गरेका हुन् ।
१५ खर्बको बजेटमा पुँजीगत खर्च ४ खर्ब मात्र छ, त्यो पनि ऋण हो’, वैद्यले भने, ‘यो बजेटले न ब्यापार घाटा घटाउन सक्छ न राष्ट्रिय उद्योगको विकास गर्छ ।’
वैद्यले संघीय सरकारले ल्याएको बजेटप्रति टिप्पणी गर्दै त्यसलाई दयनीयको संज्ञा दिएका छन् । बजेट प्रभावकारी नभएकाले यसले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा नगर्ने उनको दाबी छ ।
वैद्यले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको पनि खुलेरै विरोध गरे । मिडिया काउन्सिल विधेयकले सरकार निरंकुश र फासीवादी दिशामा अघि बढेको देखिएको भन्दै वैद्यले आफ्नो पाटीले विधेयकविरुद्ध पत्रकारहरुको आन्दोलनमा ऐक्यवद्धता रहेको बताए ।
सरकार एकपछि अर्को गर्दै ठूला ठूला भ्रष्टाचार काण्डमा मुछिंदै गएको र वर्तमान सरकारप्रति जनमत राम्रो नदेखिएपछि आफ्ना कमजोरी ढाकछोप गर्न निहित स्वार्थले मिडिया काउन्सील विधेयक ल्याइएको दाबी वैद्यको छ ।
‘जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि आफूलाई कम्युनिस्ट भन्ने दुई तिहाइको सरकारले अंकुश लगाएर नियन्त्रण गर्न खोज्नु बिडम्वना हो’, वैद्यले भने, ‘मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित भयो भने मुलुक निरंकुशता र फासीवादतिर जान्छ, भ्रष्टाचार र अनियमितताले पराकाष्ठा नाघ्छ ।’
फरक प्रसंगमा वैद्यले विप्लवसंग पार्टी एकताको आधार तयार गर्ने प्रयास ६(७ महिनायता रोकिएको स्पष्ट पारे । ‘उहाँहरु र हाम्रो कार्यदिशामा पनि खाडल छ, उहाँहरुको अलि रहस्यमूलक छ, त्यसैले तत्काल एकता सम्भावना छैन’, विप्लवसँगको एकता प्रयासबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै वैद्यले भने, ‘बरु नेकपा मसाल, ऋषि कट्टेलको नेकपा, गोपाल किरातीको माओवादी केन्द्रसंग ध्रुवीकरणको प्रयास जारी छ ।
वर्तमान सरकारले कम्युनिस्टका नाममा सच्चा कम्युनिस्टको बद्नाम गरेको भन्दै वैद्यले आक्रोस समेत पोख्न भ्याए ।





प्रतिकृया