• २६ भदौ २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

एमालेको महाधिवेशन मंसिर ७ देखि १० गतेसम्म गर्ने, ‘विभाजनकारी’लाई अन्तिम पटक सोच्न अनुरोध

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०५:४१

काठमाडौँ: एमालेको संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका पारित गरेको छ। आउँदो मंसिरमा हुने गरी घोषणा भएको पार्टीको दशौँ महाधिवेशनलाई फरक नपर्ने गरी पार्टीका तल्ला तहको अधिवेशन हुने मिति पारित गरेको हो। महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदनलाई पारित गर्दै महाधिवेशको ६ महिने कार्य योजना सार्वजनिक गरिएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

National Life

 

उनका अनुसार जेठ महिनाभित्र पार्टीका सबै संरचना पुनःगठन गरिसक्ने, असारभित्र पार्टी सदस्यता थप तथा नविकरण गर्ने, भदौमा वडा, पालिका तह र जिल्लाको अविधेशन सक्ने कार्ययोजना पारित भएको छ। त्यस्तै असोजमा प्रदेश तहको अधिवेशन गर्ने र मंसिर ७ देखि १० गतेसम्म दशौँ महाविधेशन गर्ने निर्णय भएको छ। बैठकले ‘विभाजनकारी’ गतिविधिमा नलाग्ने नेपाल पक्षलाई आह्वान गर्ने र नमाने कारबाही गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। उनले भने, ‘पार्टीलाई शुद्धिकरण गर्दै बाहिर लागेका साथीहरुलाई फर्काउने प्रयास हुनेछ। विभाजनकारी गतिविधिमा लागेकाहरुलाई अन्तिमपटक सोच्न आह्वान गरेका छौँ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

नेपाल पक्षलाई पार्टी फर्किन आह्वान भए पनि उनीहरुका कुनै पनि शर्त नमानिने उनले बताए। पार्टीमा फर्किन उनीहरुले फागुन २८ गतेको निर्णय पुनःविचार हुुनपर्ने शर्त राखेका छन् नि भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘पार्टीमा नफर्किए कारबाही हुन्छ। उहाँहरुका शर्त ठीक छैन। फागुन २८ को निर्णय फेरबदल हुँदैन।’

 

बैठकले सरकारको तीन वर्षे कार्यकालको मूल्यांकन गरी सफल भएको निष्कर्ष निकालेको छ। बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने, ‘बैठकले पार्टीको तीन वर्षे कार्यकालको समीक्षा गरेको छ। अनेक प्रतिकुलताका बीच पनि महत्वपूर्ण उपलब्धि हासिल भएको निष्कर्ष निकालेका छौँ।’

प्रतिकृया