नेपालले मलेसियालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको अर्धशतक बनाउदा आशिफ शेखले ४२ रन बनाए
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार ०३:५६
काठमाडौँ : त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२ ओभर एक बलमा पूरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ४१ बलमा ६२ रन बनाए। उनले शनिबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए। यस्तै आशिफ शेखले ४२ रन बनाए। उनलाई मलेसियाका विरनदीप सिंहले आउट गरेका हुन्। दीपेन्द्र सिंह ऐरीले तीन बलमा ६ रन बनाए।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मेलेसियाले १६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। मलेसियाका लागि सयिद अजिजले २७, शरविन मुनिन्डेयले २० र शाफिक शरिफले १५ रन जोडेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमले एक–एक विकेट लिएका थिए।
नेपालले सिरिजको आफ्नो पहिलो खेलमा शनिबार नेदरल्याण्ड्सलाई हराएको थियो। मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो।






प्रतिकृया