• २५ भदौ २०८३, बिहीबार
  • ८ः५५ राती

४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

प्रकाशित मिति

२०७७ चैत्र १६ गते, सोमबार ०८:०८

काठमाडौं : साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो । कम्पनीले पहिलो चरणमा ४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।

National Life

सरकारले २०७५ पुसमा ३०० विद्युतीय बस खरीद गर्ने निर्णय गरी २०७६ वैशाख १ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालन गरिसक्ने बताएको थियो । तर २०७६ साउन १ गते मात्र बस खरीदको जिम्मेवारी सरकारी स्वामित्वमा रहेको साझा यातायातलाई दिइएकोमा ३ महीना नबित्दै सरकारले बस खरिद गर्न नसकेको भन्दै साझाबाट रकम फिर्ता लिएको थियो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले आफै बस खरीद गर्ने भन्दै रकम फिर्ता लगेको डेढ वर्षसम्म पनि खरीद गर्न नसकेपछि माघ गत अन्तिम साता मन्त्रिपरिषद्को निर्णयमार्फत बस खरीदको जिम्मेवारी पुनः साझालाई नै दिने निर्णय गरेको थियो ।

उक्त समय बीचमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बसको न्यूनतम मापदण्ड बनाएर साझालाई दिएको थियो । ‘हामीले पहिले पनि बसको बारेमा अध्ययन गरेका थियौं, त्यसअनुसार तयारीमै थियौं,’ साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले भने, ‘सरकारले पुनः जिम्मेवारी दिएपछि पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेका हौं ।’

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया