• ११ असोज २०८३, आइतबार
  • ४ः२० बिहान

सामसुङलाई पछि पार्दै एप्पल बन्यो स्मार्टफोन ब्राण्ड

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०५:५८

काठमाडौं -विश्व स्मार्टफोन बजारमा आइफोन सबैभन्दा धेरै चर्चा गरिने तथा सबैभन्दा धेरै बिक्री हुने मध्येको स्मार्टफोन हो । तर जब स्मार्टफोन निर्माता कम्पनीहरुबीचको प्रतिस्पर्धाको कुरा आउँछ तब आइफोन निर्माता कम्पनी एप्पल भन्दा अगाडि अर्को कम्पनी रहँदै आएको छ , त्यो हो सामसुङ । सामसुङ लगातार रुपमा विश्व स्मार्टफोन बजारमा नम्बर वान रहँदै आएको छ । तर पछिल्लोपटक एप्पलले ल्याएको आइफोन १२ सिरिजले स्मार्टफोन बजारमा पासा पल्टाइदिएको छ ।

National Life

गार्टनरको पछिल्लो रिपोर्ट अनुसार आइफोन १२ सिरिजको उच्च माग तथा बिक्रीकै कारण सामसुङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । रिपोर्ट अनुसार पछिल्लो त्रैमासिकमा एप्पलले विश्व बजारमा ८ करोड स्मार्टफोन बिक्री गर्न सफल भएको छ । त्यो संख्या अरु जुनसुकै स्मार्टफोन ब्राण्डको भन्दा धेरै हो । अर्को उल्लेखनीय कुरा के भने यो पटक सन् २०१६ यता पहिलोपटक एप्पलले सामसुङ भन्दा बढि स्मार्टफोन बिक्री गर्न सफल भयो ।

उक्त त्रैमासिकमा आइफोन बिक्रीको दरमा १४.९ प्रतिशतले बढोत्तरी भयो । जबकि सोही अवधिमा सामसुङका स्मार्टफोनको बिक्रीदर चाहीँ ११.८ प्रतिशतले घटेको छ । धेरै खाले स्मार्टफोनहरु बजारमा ल्याउने सामसुङको तुलनामा एप्पलले निश्चित मोडेलका आइफोन मात्रै बजारमा ल्याउँदा समेत आइफोन १२ र आइफोन ११ समेतको उच्च बिक्रीदरका कारण एप्पलले समग्रमा ८ करोड गोटा आइफोन बेच्ने कोशेढुंगा पार गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गार्टनरका अनुसार पहिलो फाइभ जी आइफोनको रुपमा रहेको आइफोन १२ लञ्च गरेकाले नै सन् २०२० को चौथो त्रैमासिकमा दोहोरो अंकको वृद्धिदर हासिल गर्न सफल भएको हो । सन् २०२० को चौथो त्रैमासिक अवधिमा दोस्रो स्थानमा झरेपनि सन् २०२० को समग्र वर्षको बिक्रीको हिसाबले चाहीँ सामसुङ पहिलो स्थानमै रहेको छ । रिपोर्ट अनुसार अघिल्लो वर्ष सामसुङले चिनिया स्मार्टफोन ब्राण्डहरु साओमी, ओप्पो तथा भिभो लगायतकासँग कडा प्रतिस्पर्धा गर्नुपर्यो ।

सन् २०२० को चौथो त्रैमासिकमा विश्वमा स्मार्टफोनको बिक्रीमा ५।४ प्रतिशतले गिरावट आयो । जबकि समग्र वर्षभरमा चाहीँ १२।५ प्रतिशतको गिरावट देखिएको थियो । रिपोर्ट अनुसार फाइभ जी स्मार्टफोन र सस्तो तथा मध्यम मूल्यका स्मार्टफोनको बिक्रीदर उच्च भएकै कारण चौथो त्रैमासिकमा बजारको गिरावटमा केही कमी आएको हो । -एजेन्सी

 

प्रतिकृया