• 5:12 pm

सामसुङलाई पछि पार्दै एप्पल बन्यो स्मार्टफोन ब्राण्ड

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०५:५८

काठमाडौं -विश्व स्मार्टफोन बजारमा आइफोन सबैभन्दा धेरै चर्चा गरिने तथा सबैभन्दा धेरै बिक्री हुने मध्येको स्मार्टफोन हो । तर जब स्मार्टफोन निर्माता कम्पनीहरुबीचको प्रतिस्पर्धाको कुरा आउँछ तब आइफोन निर्माता कम्पनी एप्पल भन्दा अगाडि अर्को कम्पनी रहँदै आएको छ , त्यो हो सामसुङ । सामसुङ लगातार रुपमा विश्व स्मार्टफोन बजारमा नम्बर वान रहँदै आएको छ । तर पछिल्लोपटक एप्पलले ल्याएको आइफोन १२ सिरिजले स्मार्टफोन बजारमा पासा पल्टाइदिएको छ ।

गार्टनरको पछिल्लो रिपोर्ट अनुसार आइफोन १२ सिरिजको उच्च माग तथा बिक्रीकै कारण सामसुङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । रिपोर्ट अनुसार पछिल्लो त्रैमासिकमा एप्पलले विश्व बजारमा ८ करोड स्मार्टफोन बिक्री गर्न सफल भएको छ । त्यो संख्या अरु जुनसुकै स्मार्टफोन ब्राण्डको भन्दा धेरै हो । अर्को उल्लेखनीय कुरा के भने यो पटक सन् २०१६ यता पहिलोपटक एप्पलले सामसुङ भन्दा बढि स्मार्टफोन बिक्री गर्न सफल भयो ।

उक्त त्रैमासिकमा आइफोन बिक्रीको दरमा १४.९ प्रतिशतले बढोत्तरी भयो । जबकि सोही अवधिमा सामसुङका स्मार्टफोनको बिक्रीदर चाहीँ ११.८ प्रतिशतले घटेको छ । धेरै खाले स्मार्टफोनहरु बजारमा ल्याउने सामसुङको तुलनामा एप्पलले निश्चित मोडेलका आइफोन मात्रै बजारमा ल्याउँदा समेत आइफोन १२ र आइफोन ११ समेतको उच्च बिक्रीदरका कारण एप्पलले समग्रमा ८ करोड गोटा आइफोन बेच्ने कोशेढुंगा पार गरेको हो ।

गार्टनरका अनुसार पहिलो फाइभ जी आइफोनको रुपमा रहेको आइफोन १२ लञ्च गरेकाले नै सन् २०२० को चौथो त्रैमासिकमा दोहोरो अंकको वृद्धिदर हासिल गर्न सफल भएको हो । सन् २०२० को चौथो त्रैमासिक अवधिमा दोस्रो स्थानमा झरेपनि सन् २०२० को समग्र वर्षको बिक्रीको हिसाबले चाहीँ सामसुङ पहिलो स्थानमै रहेको छ । रिपोर्ट अनुसार अघिल्लो वर्ष सामसुङले चिनिया स्मार्टफोन ब्राण्डहरु साओमी, ओप्पो तथा भिभो लगायतकासँग कडा प्रतिस्पर्धा गर्नुपर्यो ।

सन् २०२० को चौथो त्रैमासिकमा विश्वमा स्मार्टफोनको बिक्रीमा ५।४ प्रतिशतले गिरावट आयो । जबकि समग्र वर्षभरमा चाहीँ १२।५ प्रतिशतको गिरावट देखिएको थियो । रिपोर्ट अनुसार फाइभ जी स्मार्टफोन र सस्तो तथा मध्यम मूल्यका स्मार्टफोनको बिक्रीदर उच्च भएकै कारण चौथो त्रैमासिकमा बजारको गिरावटमा केही कमी आएको हो । -एजेन्सी

 

प्रतिकृया