• १५ असोज २०८३, बिहीबार
  • ६ः४१ बेलुका

लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०१:०३

काठमाडौं: गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

National Life

विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्न थुप्रै श्रद्धालु भक्तजन लेले सरस्वती कुण्ड आएका नं ५ का वडाध्यक्ष मिलन सिलवालले बताए । उनले भने, “मन्दिरमा बिहान ४ बजेदेखि साना बालबालिकाका साथै वृद्धवृद्धासमेत सही ज्ञान आर्जन र विद्या प्राप्तिको कामना गर्दै दर्शन गर्न आएका छन् । मुलुकमा अझै कायम रहेको कोरोना महामारीलाई ध्यानमा राखी प्रत्येक भक्तजनलाई सामाजिक दूरी कायम गराई सरस्वतीको दर्शन गर्न दिएका छौँ ।” छिमेकी गाउँ बडिखेल, झरुवारासी, साबिकको गोदावरी, नल्लु, भारदेउका साथै काठमाडौँ र भक्तपुरबाट पनि सरस्वतीको आराधना गर्न भक्तजन लेले आएका सिलवालले जानकारी गराए ।

लेले सरस्वती कुण्डको पानी बालबालिकालाई खुवाएपछि बोल्न नजान्नेको वाक्य फुट्ने र पढ्न नजान्नेको पढाइमा सुधार हुने विश्वास रहँदा धैरै भक्तजनले आफ्ना छोराछोरीलाई सरस्वतीको दर्शन गराउन ल्याइरहेका ज्ञानकुण्ड युवा क्लबका अध्यक्ष उमेश श्रेष्ठले बताए । मन्दिरमा साना बालबालिकालाई ल्याएर सात गेडा नकाटिएको अक्षताका साथै कुण्डको जल खुवाउँदा वाक्य फुट्ने अनि बाधा हट्ने मान्यता पनि रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, “मेलामा पुरुषभन्दा महिला दर्शनार्थीको घुइँचो बढी छ । कोभिड त्रासलाई दृष्टिगत गरी महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्नाका साथै भौतिक दूरी पालना गराएर, स्यानिटाइजर, खानेपानी र स्वास्थ्य शिविरको समेत व्यवस्था गरेका छौँ ।” मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा चोरीलगायत विभिन्न नराम्रा क्रियाकलाप रोक्न सुरक्षाकर्मीका साथसाथै स्वयंसेवक, स्काउट र स्थानीय क्लबसमेतलाई परिचालन गरिरहेको श्रेष्ठले जानकारी गराए ।

मन्दिरका पुजारी नयन्द्रप्रसाद भट्टराईका अनुसार आज श्रीखण्ड चन्दनले बालबालिकाको जिब्रोमा सरस्वतीको मन्त्र लेखिदिँदा सजिलै विद्या आर्जन गर्न सफल हुने बुझाइका साथ मन्त्र लेखाउने चलन छ ।” परापूर्वकालमा बृहस्पति ऋषिले सो स्थानमा बसेर तपस्या गर्दा तिलेश्वर महादेव उत्पत्ति भई माता सरस्वतीको आह्वान गर्न लगाएपछि ऋषिले सरस्वतीको आह्वान गर्दा सरस्वती जलका रुपमा उत्पत्ति भई बसेको भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

सरस्वती कुण्ड परिसरमा विसं १८७६ मा लेखिएको एक शिलालेखमा काठमाडौँ फर्पिङका आचार्यले सो मितिमा लेले आई कुण्डको लेउ सफा गरेको कुरा उल्लेख छ । लेले तिलेश्वरमा सरस्वती कुण्डका साथै तिलेश्वर महादेव मन्दिर, गङ्गाजमुना पोखरी, गणेश, कुमार, नवदुर्गालगायत मूर्ति पनि छन् । सो मन्दिर पुग्न लगनखेलबाट चापागाउँ हुँदै लगभग १६ किलोमिटर दूरी पार गर्नुपर्छ । लेले चारैतिर हरिया डाँडाले भरिएको क्षेत्र हो ।

क्षत्री, तामाङ, नगरकोटीको बसोबास रहेको लेले शहर ललितपुरको एक प्रसिद्ध स्थान मानिन्छ ।

प्रतिकृया