• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

म्याग्दीको अक्करे पहाडमा मोटर

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०५:३७

बेनी- रघुगङ्गा गाउँपालिका–७ गौडामुनिका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जीप चढेर आए । पहिलोपटक घरदेखि सदरमुकामसम्मको सवारी गर्न पाउँदा ७६ वर्षका विकमा खुशी छायो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको सडकको ट्र्याक निर्माणले करीब तीन वर्षको प्रयासपछि माघ पहिलो साता मात्रै पूर्णता पाएको हो ।

National Life

मानिस हिँड्नसमेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा सडक निर्माण भएपछि रघुगङ्गा गाउँपालिका–४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमङ्गले क्षेत्रका सयौँ घरधुरी लाभान्वित भएका छन् । तत्कालै सडकको ट्र्याक निर्माण होला भन्ने नलागे पनि अहिले आफू नै गाडी चढेर आवतजावत गर्न पाउँदा अत्यन्तै खुशी लागेको विकको भनाइ छ ।

“पहिले वृद्धवृद्धाहरू हिँड्न सक्ने अवस्थै थिएन, डोकोमा बोकेर वारपार गर्नुपथ्र्यो, नभए घुमाउरो बाटो हिँड्नुपथ्र्यो, पछि भिरमा मान्छे हिँड्ने बाटो बन्यो”, उनले भने, “यही भिरको बाटोमा यसरी मोटर चढ्न पाइन्छ जस्तो त लागेकै थिएन तर अहिले त हरेक दिन मोटर ओहोरदोहोर गर्ने भइसक्यो ।” गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदी पावर कम्पनीको साझेदारीमा यस वर्ष अजिङ्गर भिरमा सडक निर्माण गरिएको हो । कडा चट्टानको भिरमा विस्फोटक पदार्थ प्रयोग गरी यस वर्ष करीब ८०० मिटर सडक बनेपछि ट्र्याक निर्माणले पूर्णता पाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि घुमाउरो बाटो भएर करीब एक दशकअघि नै बेनीदेखि बेग हुँदै चिमखोला पु¥याइएको सडक घ्यासीखर्कसम्म निर्माण गरिसकिएको थियो । तीन वर्षदेखि चिमखोलाबाट दर्मिजा हुँदै अजिङ्गर भिरतर्फ सडकको ट्र्याक खोल्न शुरु गरियो । दुवैतर्फबाट खन्न थालेको सडकको ट्र्याक जोडिएसँगै अक्करे पहाड ‘अजिङ्गर भिर’ भएर सवारी साधन ओहोरदोहोर गर्न शुरु गरेका छन् । दैनिकरुपमा जीप, बोलेरो, ट्र्याक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेसँगै दुर्गम बस्तीका रुपमा रहेका चिमखोला र कुइनेमङ्गले क्षेत्रका नागरिकले राहतको महसुस गरेको रघुगङ्गा–८ कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।

“सिधा यातायातले जोडिएसँगै गाउँपालिकाको केन्द्र र सदरमुकाम आउनजान सहज भएको छ, हिजोका दिनमा सदरमुकाममा काम पर्दा कम्तीमा दुईदेखि तीन दिन लाग्थ्यो, अब घरबाटै बेनी आएर आफ्नो काम सकेर पुनः सोही दिन घरमै पुग्ने अवस्था सिर्जना भएको छ”, वडाध्यक्ष छन्त्यालले भने । यसअघि यस क्षेत्रका नागरिकले सदरमुकामदेखि अजिङ्गर भिर नजीकसम्म मात्रै सवारी यात्रा गर्ने र त्यहाँदेखि पैदल आवतजावत गर्दै आएका थिए ।

“पहिले खुट्टा अडाएर हिँड्ने ठाउँसमेत थिएन, खर र डोरी बाँधेर हिँड्नुपथ्र्यो, पछि भिरमा मानिस हिँड्ने पैदलमार्ग बन्यो, अहिले त भिरमा मोटर नै गुड्न थाले, हाम्रै पालामा यसरी भिरमा मोटरबाटो बन्ला भन्ने त लागेकै थिएन”, चिमखोलाका ७० वर्षीय नन्द्रप्रसाद गर्वुजाले खुसः हुँदै भने । पहिले नुन ल्याउन पैदल हिँडेर कास्की नयाँपुलबाट पहिलोपटक गाडी चढेर गएको स्मरण गर्दै गर्वुजाले अहिले आफ्नै घरदैलोमा गाडी आउँदा खुशी लागेको अनुभव सुनाए । रासस

प्रतिकृया